लिलाबल्लभ घिमिरे
चैत्र–वैशाखको मौसम र नेपालको राजनीति मिल्दोजुल्दो छ । यो चैत्र वैशाखको मौसम कति वेला बदली हुन्छ पत्तो हुँदैन । त्यस्तै नेपालको राजनीतिले कति वेला कुन दिशा परिर्वतन गर्छ थाहा हुँदैन् । कांग्रेससँग चोचोमोचे गरेर निर्वाचनमा होमिएको माओवादी एक पटक सबन्ध विच्छेद गरिसकेको लोग्नेसँग फेरि पाउपर्न पुग्यो । त्यसबाट उसलाई सत्ता त मिल्यो तर माया प्रेम र सम्मान मिल्न सकेन । मिलोस् पनि कसरी । हिजो सबन्ध बिच्छेद गरेपछि लगाएका लाञ्छना सम्झिसक्नु छैन ।
अब फेरि चुनावमा चोचोमोचो गरेका दलसँग आउने अरे । एक पटक बिहे गरेर सबन्ध बिच्छेद गरि अर्कैसँग बिहे गर्ने अनि फेरि पहिलो लोग्नेसँग जाने अनि फेरि दोस्रोसँग आउनेलाई संज्ञा दिन्छन् त्यो मलाई थाहा भएन तर अहिले नेकपा माओवादी केन्द्रका सुप्रिम कमाण्डर प्रचण्डले गरेको चाहिँ त्यही हो । २५ फागुनमा राष्ट्रपति निर्वाचन हँुदैछ । एमाले दुई महिनाको सत्ता रोहणपछि सरकारबाट बाहिरी सकेको छ ।
यतिबेला चुनावी मैदानमा राष्ट्रपतिका २ उम्मेदवार छन् । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ । सिधा हिसाबले जित रामचन्द्रको छ । तर यहाँ सर्प भ्यागुता र बिच्छी एक अर्कासँग डराए झैं सबै सबैसँग सशंकित छन् । काँग्रेस राष्ट्रपतिमा माओवादीले धोका देला कि भन्ने डरमा छ भने माओवादी राष्ट्रपति निर्वाचनपछि पुष्पकमल दाहाललाई विश्वासको मत नदिई ठूूलो दलको हैसियतले आफैं प्रधानमन्त्री बन्ने दाउमा छ कि भन्ने डरमा देखिन्छ । यसको मुख्य कारण दलहरु बिचको अपवित्र सत्ता प्राप्तीका लागि गरिने गठबन्धन नै हुन् ।
केन्द्रीय सरकारमा देखिएको सत्ता समीकरण हेरफेरसँग प्रदेश सरकारहरुको भविष्य समेत अन्योल बन्न पुगेको छ । त्यसमध्ये पनि कोशी प्रदेशको सत्ता समीकरण निकै जटिल देखिन्छ । अहिलेसम्म यो प्रदेशमा नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई दिएको सर्मथन माओवादीले फिर्ता लिएको छैन् । र, आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाएको छैन । कोशी प्रदेशमा सांसदको संख्या ९३ जना हो । यो प्रदेशमा सरकार बनाउनका लागि ४७ मत आवश्यक पर्छ । यो प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूलो दल छ उसको सांसद संख्या ४० हो । दोस्रोमा रहेको नेपाली कांग्रेस २९ माओवादी केन्द्र १३ राप्रपा ६ नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी दल एक सिटमा छन् ।
अबको संत्ता समीकरण नेपाली कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल बिच हुने केन्द्रीय संकेतले जनाउँछ । त्यसो हुँदाँ यी चार दलको सिट संख्या ४७ पुग्छ । जुन संख्या सरकार बनाउनका लागि पर्याप्त हो । तर, अहिलेका सभामुख बाबुराम गौतम माओवादी केन्द्रका हुन् । सभामुखले मतदानमा भाग लिने पाउने अवस्था भनेको बराबरी हँुदा मात्र हो । सभामुखले निर्णायक मत मात्र दिन पाउँछन् । यस्तो अवस्थामा एमाले इमान्दार भए सरकारको विपक्षमा एमालेका ४० र राप्रपा ६ जना गरि ४६ हुन्छ । तर, एमालले बराबरी नबनाइ दिने सम्भावना धेरै रहन्छ । त्यसो गर्दा सभामुखले राजिनामा गरेर सरकारलाई बहुमत पु¥याउन सम्भावना रहन्छ ।
यदि सभामुखले राजिनामा गरे भने एमालेबाट उपसभामुखमा विजयी बनेकी सिर्जना दनुवारलाई पनि एमालले राजिनामा गर्न लगाउन सक्छ । त्यसो हुँदा सदनमा रहेका सांसद मध्ये जेष्ठ सदस्य सभामुख बनाउनुपर्ने हुन्छ । अहिले कोशी प्रदेशसभामा जेष्ठ सदस्य भनेका नेपाली कांग्रेसका गयानन्द मण्डल हुन् । उनी सभामुख बन्छन् । त्यसो हुँदा फेरि चार दलीय गठबन्धनको ४६ मत मात्र हुन्छ । वास्तवमा नै भन्नुपर्छ कोशी प्रदेशको सरकार बनाउनका लागि सबैभन्दा बढी महत्वपूर्ण दल भनेको राप्रपा बन्न पुगेको छ । यदि राप्रपाले नयाँ समीकरण अनुसार सरकार बनाउन सहयोग गर्ने हो भने सहजै सरकार बन्नसक्छ । तर, राप्रपा एमालेलाई छोड्नसक्ने अवस्थामा पुगिहालेको छैन । राप्रपाले अब नयाँ बन्ने सत्ता समीकरणमा सहयोग गरेन भने कोशी प्रदेशसभाको भविष्य नै आन्योल पर्ने सम्भावना छ ।
यदि अहिलेको सरकार ढाल्यो र कल छल बल नयाँ सरकार बन्ने भयो भने यो प्रदेशको मुख्यमन्त्रीको बन्ला भन्ने कुरापनि अन्योलमा नै छ । केन्द्रीय सत्ता बाँडफाँडमा प्रदेश सरकारहरुलाई केन्द्रका नेताले जुवाको हालमा राखे झैं राख्ने गर्छन् । यो प्रदेशमा फेरिपनि मुख्मन्त्री एकीकृत समाजवादीबाट राजेन्द्र राई बने भने नौलो नहोला । किनभने अहिलेको केन्द्रको सत्ता हेराफेरीमा सबैभन्दा बढी शेरबहादुर देउवालाई सजिलो बनाउने पात्र भनेको माधवकुमार नेपाल नै हुन् । त्यसैले प्रदेश सरकारका हिस्सा माधवकुमारले लिन्छन् र समाजवादीका केन्द्रीय नेतृत्वमा राजेन्द्र राई माथिल्लो दर्जाका नेता हुन् । त्यसका अलावा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि मुख्यमन्त्रीको दावी त गर्ला । तर, कोशी प्रदेशको मुख्यमन्त्री अरु दलका लागि फलामको चिउरा चवाउनु जस्तै भन्ने देखिन्छ ।