सम्पादकीय

मेडिकल कलेजले जगाएको आशा

लामो समयदेखि मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने बहस चलिरहेको थियो । तर, यसपटकबाट यो बहसले मूर्त रुप लिन लागेको छ । मंगलबार मात्रै मेडिकल कलेजले विराटनगरस्थित कोशी अस्पताललाई प्रयोगात्मक कक्षाका लागि उपायेग गर्ने सम्झतौ हुनु सुखद् खबर हो । प्रदेश १ मा मुख्यालय भएको र यहीँ जन्मेको विश्वविद्यालयले मेडिकल कलेज सन्चालन गर्ने विषयले निश्चय नै प्रदेशको मात्रै होइन, मुलुककै स्वास्थ्य शिक्षामा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।

मेडिकल कलेज सन्चालनका लागि आवश्यक पर्ने बेड संख्या पुर्याउन विश्वविद्यालयलाई सकस थियो । जनशक्ति पूर्वाधार लगायतका विषयको चिन्ता थियो । तर, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएपछि त्यो चिन्ता हराएको छ । अब पूर्वाञ्चल मेडिकल कलेज सन्चालनको मार्ग प्रशस्त हुँदै गएको छ । यो कलेज जति चाँडो सन्चालनमा आयो, मुलुकको स्वास्थ्य शिक्षाका लागि उत्तिकै ठूलो उपलब्धि हुने निश्चित छ ।

मुलुकको मेडिकल शिक्षा ज्यादै महँगो भएको गुनासो लामो समयदेखि जारी छ । सरकारी शिक्षालय र निजीमा पाइने छात्रवृत्तिमा पढ्नेबाहेक सर्वसाधारण परिवारका सदस्यले हम्मेसी मेडिकल शिक्षा पढ्ने हिम्मत गर्दैनन् । यो अवस्था मुलुकका निजी शिक्षालयहरुले जन्माएको बाध्यता हो । अनेक बहानामा विद्यार्थीबाट कुस्त रकम असुल्ने, सरकारी निर्देशनहरु अवज्ञा गर्ने लगायतका काममा निजी कलेजहरु उद्यत छन् । यसले मुलुकको मेडिकल शिक्षाको हुर्मतसमेत लिइरहेको छ । यस्तो अवस्थामा डा. गोविन्द केसी जस्ता चिकित्सकहरुको निरन्तरको लगाव र आन्दोलनले केही हलुको बनाएको छ । यद्यपि पर्याप्त छैन ।

यो अपर्याप्तताका बीचमा सरकारी लगानीबाट मेडिकल कलेजहरु खुल्नु ज्यादै उत्साहप्रद कुरा हो । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा राज्यले पूरापूर लगानी गर्नुपर्ने हो । यद्यपि कमजोर अर्थतन्त्र भएको मुलुक त्यो अवस्थामा पुगिनसकेको बताएर राज्य आफ्नो दायित्वबाट पन्छिरहेको छ । राज्यलाई आफ्नो दायित्वबाट पन्छिन नदिनकै लागि सरकारी लगानीमा खुल्ने मेडिकल कलेजहरु सहयोगी हुनसक्छन् । सरकारी शिक्षालयमा अन्यत्रभन्दा विद्यार्थीले सुलभ दरमा पढ्न पाउँछन् । विरामीले पनि थोरै खर्चमा उपचार पाउँछन् । यसरी बहुआयामिक दृष्टिले पनि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सन्चालन गर्ने विषय सही छ ।

कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि उपयोग गर्ने सम्झौता भएपछि अब चिकित्सा शिक्षा आयोगले सिट बाँडफाँड गरेपछि मेडिकल कलेजमा विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढ्नेछ । यद्यपि सरकारी प्रक्रिया सधैं नै ढिलो हुने गरेका कारण आशंका बाँकी नै छ । यसअघि पनि २०७८ माघमै कोसी अस्पतालले विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको थियो । त्यसको एक वर्षपछि गत माघ २३ गते मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको थियो । प्रदेशबासीको हित, विद्यार्थी र विरामीको सुविधालाई ध्यान दिएर पनि यो निर्णय कार्यान्वयन छिटो गरिनुपर्दछ ।

बिहिबार, १८ फागुन, २०७९, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर