‘मिसन ग्रासरुट’ निर्देशन दिने मात्र नबनोस्

  विक्रम लुईंटेल

यहि वर्ष तीनै तहका निर्वाचन सम्पन्न भए । सत्तारुढ राजनीतिक दलको घेराबन्दीलाई चिर्दै नेकपा एमाले देशको दोस्रो ठूलो पार्टी बन्यो । पपुलर भोट (समानुपातिक) को आधारमा पहिलो पार्टी बन्न सफल भयो । कार्यकर्ताको विशाल पंक्ति बोकेको एमाले राष्ट्रिय राजनीतिमा राष्ट्रपति र अरुखाले गञ्जगोल तथा लफडा भइरहँदा मिसन ग्रासरुटको अभियानमा गाँउ छिरेको छ । केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्यदेखि जिल्ला, गाउँ तहसम्मका नेता कार्यकर्तालाई यो अभियानमा सहभागी गराएको छ । फागुन ५ बाट सुरु भएको अभियान बैशाख ९ मा समापन गर्ने उद्देश्यसहित नेता कार्यकर्ता गाउँ छिर्न थालेका छन् ।

जनतासँग रचनात्मक ढंगले जोडिने, वर्तमान अवस्था, स्थानीय सरकारले गरेका काम कारबाहीदेखि जनताले भोग्नुपरेका विषय बुझ्दै कहीँ केही गर्नुपरेमा तत्काल गर्नेे उद्देश्य बोकेर छिरेको एमालेले यसलाई महत्वको साथ हेरेको देखिन्छ । मिसन ग्रासरुटको अर्थ तलसम्म पुग्ने हो । यसर्थ यो अभियान प्रत्यक्ष जनतासँग जोडिन्छ । ठूलो र भद्दा कमिटीहरु कतिपय अवस्थामा देखिएको बेला क्षमता भएका र नभएका नेताहरु कमिटीमा पुगेका छन् । यसले त्यस्ता मानिसहरुको मूल्यांकन गर्दै स्थानीय तहका सरकारले गरेका कामसँग पार्टी जोड्ने र आमरुपमा जनप्रतिनिधिको सार्वजनिक सुनुवाईमार्फत जवाफदेहीतालाई बृद्धि गर्नसक्यो भने एमालेका लागि फाइदाजनक हुन्छ ।

एकपटक स्थानीय पालिकाको प्रमुख भइसकेको व्यक्ति अर्कोपटक जित्नै नसक्ने अवस्थामा पुगेका कयौँ उदाहरण छन् । यी उदाहरणहरुलाई केलाएर कुन पालिकाले कसरी काम गरेको छ ? भन्ने कुरा यो अभियानमा एमालेले केलाउन सक्नुपर्छ । पार्टी बैठकका लागि बैठक र बैठकहरुमा नेताहरुका लम्बेतान भाषण मात्रै भयो भने यो अभियान निरर्थक हुनसक्छ । त्यसो हुनाले मञ्चमा बसेका नेताको कुरा मात्र होइन, मञ्चदेखि मुनी बसेका आम कार्यकर्ता र नागरिकका गुनासा सुन्ने वातावरण बन्न सकेन भने त्यसको अर्थ रहँदैन । अभियानका नेताहरुले यसतर्फ ध्यान दिनु जरुरी देखिन्छ । किनकि एक वर्षको स्थानीय सरकार जनताले हेरेका छन् । यो मूल्यांकन हुनु जरुरी छ ।

आमरुपमा कार्यकर्ताहरुलाई र साधारण नागरिकलाई बोल्न दिने र उनीहरुको कुरा सुन्ने अवसरहरु सिर्जना गरियो भने भावी दिनमा क्षमतावान् कार्यकर्ता चिन्न सकिन्छ र क्षमता भएका मानिस चिनेर पार्टीमा ल्याउनसक्ने अवस्था हुनसक्छ । साथै यसबीचमा पुराना नेताहरुलाई सम्झने र उनीहरुको कुरा सुन्ने गर्न पनि सक्नुपर्छ । भरसक नेताहरु गाउँमा जाने, कार्यक्रम गर्ने, गाडी चढ्ने र बजारतिर फर्किएर बास बस्ने भन्दा पनि गरिब दुःखीका घरभित्रै बस्ने गरी वातावरण बनाउन सक्नुपर्छ । आफंैले सहयोग गरेर हुन्छ कि अरु माध्यमबाट त्यस्ता खालका मानिसहरुको घरमा पुग्ने, भेला हुने र विगतका बाचाहरुका समिक्षा गर्न पनि नेताहरु पछि पर्नु हुँदैन ।

पछिल्लो समयमा नेताहरु बजारमुखी र सुविधाभोगी भएको आरोपबाट मुक्त हुन पनि यो अभियानले सहयोग पुर्याउन सक्छ । तसर्थ यसका सैद्धान्तिक र औचित्यका कुरा केबल कार्यकर्तामाझ बैठक गरेर सुनाउने र निर्देशन दिने मात्र बन्नु हुँदैन । जनताकै कुरा सुन्नेगरी र उनीहरुलाई आशाको सञ्चार जगाउने खालको हुनुपर्छ । पछिल्लो समय राजनीतिक दलप्रतिको वितृष्णा बढ्दै गएको परिपेक्षमा यस्ता मिसनहरु हरेक वर्ष गर्ने हो भने राजनीतिमा नयाँ उत्साहको सञ्चार हुनसक्छ ।

शुक्रबार, १२ फागुन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर