विराटनगर । मोरङको बेलबारी नगरपालिका ३ मा १ नम्बर प्रदेश प्रहरी अस्पताल संचालनमा आएको छ । १५ शैय्याको यो अस्पताल बुधवार एक कार्यक्रम आयोजना गरी संचालनमा आएको हो ।
पुरानो इलाका प्रहरी कार्यालयको भवनमा संचालित प्रदेश प्रहरी अस्पतालको एक विशेष कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिधिवत रूपमा अस्पताल भवनको उद्घाटन गरे गरे । नेपाल प्रहरी प्रदेश संरचनामा रूपान्तरण हुँदै गरेको र प्रदेश भरीका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पतालको स्थापना गरी समुद्घाटन भएको हो ।
भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको शुभारम्भले १ नम्बर प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याइएको बताए । यसका साथै प्रहरी अस्पतालको निर्माण र सेवा शुभारम्भले स्थानीयवासीले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राविधिक प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माण र सेवा शुभारम्भले नगरवासीहरू उत्साहित रहेको बताए । हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अह भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायत हरेक क्षेत्रमा सहयोग र समन्वयको लागी नगरपालिका सदैव तत्पर रहेको उनले बताए ।
कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले सीमित श्रोत र साधनका बिच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा शुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तव्य राख्दै प्रहरी कर्मचारीहरूको स्वास्थ्य सेवालाई ध्यानमा राखी अस्पताल निर्माण कार्यमा सहयोग पु¥याउनु हुने सबैमा हार्दिक आभार प्रकट गरे । प्रहरी अस्पतालबाट तल्लो तहका प्रहरी कर्मचारीहरू सेवाबाट प्रत्यक्ष लाभान्वित भई अहोरात्र सेवामा समर्पित हुने र आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारीहरूलाई समेत स्वास्थ्य सेवा प्रदान हुने उनले बताए । अस्पतालको सेवा अझ प्रभावकारी रूपमा प्रहरी सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको उनले बताए । कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।
प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना विशेषज्ञ चिकित्सक सहित १० जनाको प्राविधिक टोलीले ओपिडी तथा इमरजेन्सी लगायतका सेवा प्रदान गर्ने छ । सेवा बिस्तारको क्रममा अन्य सेवाहरू समेत क्रमशः थप हुँदै जाने प्रहरी नायव उपरीक्षक डा। सरोज सिंहले बताए ।