संक्रामक रोग उपचार केन्द्र अलपत्र

विराटनगर । कोरोना महामारीको बेला निर्माण गरिएको विराटनगरस्थित कोसी कोभिड–१९ उपचार केन्द्रलाई प्रदेश सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्रको रुपमा विकास गर्ने योजना बनाएपनि त्यसअनुसार काम अगाडि बढ्न नसकेको पाइएको छ ।
विराटनगर–१० नेशनल ट्रेडिङको जग्गामा प्रदेश सरकारले निर्माण गरेको कोभिड अस्पताललाई कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थियो ।

नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनिएको अस्पतालमा सामान्य उपचारबाहेक अन्य सेवा भने सञ्चालन हुन सकेको छैन । कोरोना महामारीको बेला निजी अस्पतालहरुले विरामी लिन नमानेको अवस्थामा प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो ।

२०७६ चैत्र २१ गतेदेखि सञ्चालनमा आएको अस्पतालमा २०७७ वैशाख ५ गतेदेखि कोरोना संक्रमित बिरामीको उपचार गरिएको थियो । कोभिडको समयमा प्रभाबकारी रहेको अस्पताललाई नागरिक समाजसमेतको सहकार्यमा विस्तार गरेर १६० शैय्याको बनाइएको थियो ।अस्पतालमा २० भेन्टिलेटरसहित २४ शैय्याको आइसियु र ५२ वटा एच्डीयु शैय्या रहेको छ । स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण अस्पतालमा थप संरचना निर्माण गरेको थियो । तर, अस्पतालका एच्डीयु र आइसीयुसहित उपकरणहरू अहिले प्रयोगमा छैनन् ।
संक्रामक रोग तथा सघन उपचार केन्द्र पूर्ण रुपमा सञ्चालन नहुँदा त्यहाँ रहेका सामानहरू बिग्रने स्थितिमा छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोभिड उपचार केन्द्रलाई प्रादेशिका सरुवा अस्पतालको रूपमा स्तरोन्नति गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, त्यस अनुसार अस्पतालको संरचना विकास हुन सकेको छैन ।

करारमा रहको कर्मचारीहरूको रेखदेखमा रहको अस्पतालमा बेलामौका आफूहरूले सरसफाइ गर्ने रेखदेख गर्ने गरेको एक कर्मचारुीले बताए । २०७९ असोज ३ गते शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोसी कोभिड अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गर्दै अस्पतालमा ओपिडी सेवा सुरू गर्ने बताएको थियो । तर, सेवा सुचारु भएको छैन ।

अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ । जसमा मेडिकल अधिकृत र स्टाफ नर्सहरूको दरबन्दी रहेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा ४ जना मेडिकल अधिकृत र १२ जना नर्सहरूले सामान्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले संक्रमण अस्पतालको रूपमा रूपान्तरण गर्ने निर्णय कार्यान्वयन गर्न विज्ञहरूको समिति गठन भएको बताएका छन् । सरकारले नीतिअनुसार अस्पताल सञ्चालन गरिने उनले जानकारी दिए ।

बिहिबार, ११ फागुन, २०७९, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर