अनन्तराज न्यौपाने
पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफ्ना कुण्ठाग्रस्त अभिव्यक्ति सार्वजनिक गरेका छन् । एक अराजक स्वास्थ्य–व्यापारी दुर्गा प्रसाईंको विवादास्पद कार्यक्रममा सहभागी भएलगत्तै शाहले प्रजातन्त्र दिवसका दिन फागुन ७ गते अर्थ न बर्थको सन्देश दिएका छन् । २०६२–६३ को आन्दोलनले गद्दीच्युत भएका ज्ञानेन्द्र अझै धङधङी र भ्रममै रहेछन् भन्ने तथ्य यस सन्देशले स्पष्ट पारेको छ ।
पहिलो कुरा त, ज्ञानेन्द्रले गरेको दाबीजस्तो २००७ सालको क्रान्तिमा तत्कालीन राजा त्रिभुवनको केही खास योगदान थिएन । हरेक संकटग्रस्त राजालाई भएजस्तो उनलाई पनि आफ्नै गद्दीको बढी चिन्ता थियो । उनी त्यही गद्दी सुरक्षित गर्न सपरिवार भागेर दिल्ली पुगेका थिए । तर, त्रिभुवनले ज्ञानेन्द्रलाई भने साथै लगेनन् । इतिहासकारका अनुसार ज्ञानेन्द्र मूल नक्षत्रमा जन्मिएका थिए । र, मूल नक्षत्रमा जन्मिएको बालकलाई उसका परिवारले १२ वर्षसम्म हेर्नुहुँदैन भन्ने ज्योतिषीय मत छ । मूल नक्षत्रको जातकले सन्तान नै पिर्छ भन्ने ज्योतिषीय मत पनि छ । नभन्दै वीरेन्द्रका वंशको त संहार नै भइसकेको छ । यही ज्योतिषीय रायअनुरूप त्रिभुवनले ज्ञानेन्द्रलाई जन्मनेबित्तिकै मावलमा पठाइदिएका थिए । यही कारणले ज्ञानेन्द्र ३ वर्षका उमेरमा राजा हुन पाए । त्रिभुवनले शरणार्थीका रूपमा सबैलाई दिल्ली लगे । तर, ज्ञानेन्द्रलाई मूल परेको मुल्याहा भनेर सँगै लगेनन् ।
केवल आफ्नो गद्दी जोगाउने उद्देश्यले सपरिवार भारतको शरण लिन गएका त्रिभुवनले त्यहाँ बसेर नेपाली कांग्रेसको मनसाय नै नबुझी दिल्ली सम्झौता गरेका थिए । खासमा क्रान्तिका नायक बीपी कोइरालालाई पनि दिल्ली सम्झौता चित्त बुझेको थिएन । तर, विविध कारणले स्वीकार गर्न बाध्य हुनुपरेको थियो । त्रिभुवनले नेपाली कांग्रेस र बीपीलाई थाहै नदिई दिल्ली सम्झौता गराएका हुन् । यसमा राणा, भारत र त्रिभुवन मात्र सामेल थिए । यसरी आफ्नो गद्दी बचाउन त्रिभुवनले क्रान्तिको मर्मविपरीतका काम गरेका थिए । त्यसैले फागुन ७ गतेका दिन त्रिभुवनप्रति कृतज्ञ हुनुपर्ने कुनै ठाउँ छैन । तर, राजा र उनका भाट मण्डलेहरू त्रिभुवनको कथित योगदानको एकोहोरो रट लगाएर थाक्दैनन् ।
दोस्रो कुरा, शाह वंशले लोकसम्मतिलाई पालन गरेको भन्ने सफेद झुठ ज्ञानेन्द्रको वक्तव्यमा पढ्न पाइन्छ । तर, यथार्थ के हो भने शाह वंश सधैँ लोकसम्मतिका खिलाफमा रह्यो । स्वयं राजा त्रिभुवनले २००७ साल फागुन ७ को घोषणामा ‘हाम्रा प्रजााको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानअनुसार होओस् भन्ने हाम्रो इच्छा र निर्णय भएको’ उल्लेख गरेका थिए । तर, नेपाली जनताले त्रिभुवनले भनेजस्तो वैधानिक सभा पाउन ६४ वर्ष कुनुप¥यो । माओवादी आन्दोलनको फलस्वरूप पहिलो संविधानसभाको चुनाव २०६४ र दोस्रो २०७० सालमा भयो । त्रिभुवनले कल्पना गरेको गणतन्त्र २०६४ सालमा मात्र आयो ।
यसरी ढिलो उपलब्धि हुनुको कारण के थियो भने आफ्नो घोषणापछि त्यसलाई कार्यान्वयन गर्न स्वयं त्रिभुवन नै प्रतिबद्ध र क्रियाशील भएनन् । उनी बाँचुञ्जेल संविधानसभाको निर्वाचन गराउने बाटो उनले नै छेकिरहे । महेन्द्रका पालामा नेपाली कांग्रेसले संविधानसभाको लागि आन्दोलन ग¥यो । तर, त्यो आन्दोलनले पनि पूर्णता पाएन । महेन्द्रले जालसाजीपूर्ण तरिकाले २०१५ सालमा संविधान दिए । नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरू यही संविधानमुनि बसेर आमनिर्वाचनमा सरिक भए ।
महेन्द्रले पनि लोकसम्मतिको कहिल्यै सम्मान त के वास्तासमेत गरेनन् । उनले बीपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकारलाई अकारण बन्दी बनाएर निरंकुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे । नेपाली जनताले यो शासन व्यवस्थाबाट मुक्ति पाउन ३० वर्ष कुर्नुप¥यो । २०४६ सालमा पनि राजा वीरेन्द्रले राजीखुशीले प्रजातन्त्रको पुनःस्थापना गरेका होइनन् । नेपाली जनताले आन्दोलनका बलमा राजासित खोसेर अधिकार लिएका हुन् ।
ज्ञानेन्द्रले पनि २०६२–६३ को आन्दोलनले आफूलाई फ्याँकिदेला भन्ने डरले आन्दोलनका आवाजलाई समर्थन गरेका हुन् । नभन्दै आन्दोलनको माग र मर्मअनुसार आज हामी गणतन्त्रमा रमाइरहेका छौँ । शाही कूपछि पत्रपत्रिका र एफएमका कार्यालयमा सैनिक पठाएर आतंकित बनाउने र सेन्सर गर्ने ज्ञानेन्द्रले अहिले लोकसम्मतिको कुरा गर्न सुहाउँदैन ।
जहाँसम्म राजा ज्ञानेन्द्र र दल मिलेर जानुपर्ने उनको जिकिर छ, दलहरूले कुन मुद्दामा जनविरोधी ज्ञानेन्द्रसित मिल्ने ? हो, उनी आन्दोलनको बलले स्थापना गरेका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षको संरक्षण र संवद्र्धनका लागि लाग्छन् भने उनीसित दलले सहकार्य गर्दा हुन्छ । अन्यथा, यी जनविरोधी, जनअधिकार विरोधीसित नेपालका राजनीतिक दलले सहकार्य गर्नुको कुनै तुक छैन ।