काठमाडौं । गएराति ग्यास विस्फोट हुँदा विस्फोटमा घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि विदेश लैजान अस्पतालले सिफारिस गरेको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालले हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको हो ।
गएराति ग्यास विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । दुबैको हाल जलन सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार चन्द्र भण्डारीको दुबै हात र दुबै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको छ । दुबै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको अस्पतालका जलन उपचार विभाग प्रमुख डा किरण नकर्मीले बताए ।