राजनीतिले थलिएको कोसी अस्पताल

  पुण्य पि अधिकारी

अस्वस्थ्यहरुलाई उपचार गरी निको बनाउने कोशी अस्पताल विभिन्न कारणले आफंै बिरामी छ । सरकारी अस्पताल भएका कारण कोशी अस्पतालमा राजनीति बढी हुनु स्वाभाविक हो । तर अस्पातलको सेवा प्रवाह र आन्तरिक प्रशासन नै कमजोर हुने गरी राजनीति हावी हुनु किमार्थ राम्रो होइन । सरकारकै कारण नियमित रुपमा बैठक बसी अस्पतालका समस्या समाधानका लागि पहल गर्न नसकेको अस्पताल विकास समितिको भनाइ छ । सरकारकै कारण अस्पतालमा दुई ओटा विकास समिति छन् । जसका कारण र्सिजित किचलोले निम्त्याएको सास्ती बिरामी र सर्वसाधारणले खेप्नु परेको छ ।

कोशी अस्पतालले सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न थालेको १३३ वर्ष पुरा भएको छ । रंगेलीबाट सुरु भएको कोशी अस्पतालको सेवा यात्रा यो अवधिसम्म कहिल्यै सुखद् हुन सकेन । सधैँ राजनीतिको प्रपञ्चबाट कोसी अस्पताल आफैँ बिरामी भयो र बिरामी हालत मै छ । सरकारको नीति र राजनीतिकै प्रभावका कारण कुन दिन कोसी अस्पताल आफैँ थलिने हो त्यसको भय उत्तिकै छ ।

नीजि स्वास्थ्य संस्थामा मंहगो उपचार खर्च गर्न नसक्ने आधारभूत तहका नागरिकको पहिलो गन्तव्य कोशी अस्पताल हो । तर अस्पतालले अझै नागरिकलाई उचित स्वास्थ्य सेवा प्रभाव गर्न सकेको छैन । अस्पतालमा आवश्यक औजार र स्वास्थ्य उपकरण सरकारले समयसमयमा उपलब्ध गराउँदै आएको भएपनि तिनको उचित परिचालन हुन सकेको छैन ।

कतिपय अवस्थामा अस्पतालका मेसु, अस्पताल विकास समिति, विभागीय प्रमुखहरुको तजबिजका कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । अस्पतालमा भएको भद्रगोल व्यवस्थापनका लागि केही सकारात्मक प्रयास भएका छन् । तर, ती प्रर्याप्त छैनन् । प्रदेश राजधानीमा रहेको सरकारी अस्पातलको स्वास्थ्य सेवा प्रवाह द्रुत रेल जत्तिकै हुनु पर्ने हो । तर अहिले पनि कोशी अस्पतालको स्वास्थ्य सेवा प्रभाव ठेलाको रफ्तार भन्दा बढी हुन सकेको छैन ।

१३३ वर्षयता आम सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अस्पतालले न्यून शुल्कमा प्रभावकारी उपचार सेवा प्रदान गरेको छ । तर, ती सेवा पाउन राजनीतिक दलको क्रियाशील कार्यकर्ता वा अस्पतालका डाक्टर, विकास समितिको भित्रिया हुन आवश्यक छ । अन्यथा आम सर्वसाधारणले कोशी अस्पतालमा समयमा र उचित उपचार पाउनु निकै मुस्किल छ ।

अस्पतालमा कार्यरतमा अधिकांश डाक्टरले आफ्नै अस्पताल वा क्लिनिक चलाएका छन् । कतिपय चिकित्सकहरुले नीजि क्लिनिकलाई समय दिएका छन् । कोशी अस्पतालमा बस्नु पर्ने समयमा चिकित्सक निजी स्वास्थ्य संस्थामा भेटिन्छन् । तर, त्यस्ता चिकित्सक वा कर्मचारीलाई मेसु वा अस्पताल विकास समितिका अध्यक्ष कारबाही गर्न सक्दैनन् । किनभने सबैलाई एक अर्काको भण्डाफोर हुने डर छ ।

कोसी अस्पतालमा सोलु, ताप्लेजुंगलगायतका हिमाली जिल्लाबाट उचित र न्यून शुल्कमा स्वास्थ्य सेवा पाउने आशामा धेरै बिरामी आउने गरेका छन् । तर, ती बिरामीहरु कोसी अस्पतालको चक्कर काट्दाकाट्दा वाक्क भएर अन्तिममा मंहगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । तर विडम्वना निजी अस्पतालमा तिनै डाक्टरबाट स्वास्थ्य सेवा पाउँछन्, जुन स्वास्थ्य सेवा कोसी अस्पतालमा तिनै डाक्टरबाट पाउनु पर्ने थियो ।

तर, यो अत्यन्तै दुखदायी वास्तविकता हो । अस्पतालका मेसु वा अस्पताल विकास समितिले कुनै किसिमको कारबाही गर्न नसक्नुमा उनीहरुका आफ्नै तमास स्वार्थले महत्वपूर्ण भूमिका खेलेको छ । अन्त्यमा कोसी अस्पतालमा अब राजनीति बन्द गरी, एउटा उत्कृष्ट सरकारी स्वास्थ्य संस्थाको रुपमा विकास गर्न सबैले हातेमालो गरौँ ।

बिहिबार, २६ माघ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर