विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको हार्डजोर्नी विभागमा कार्यरत नर्स गोमा श्रेष्ठ दैनिक १६ देखि २० जनासम्म विरामी हेरेर मात्र उनको ड्युटी अवधि सकिन्छ । उनको दैनिक ६ घण्टा ड्युटी हुन्छ ।
कोशीको अर्थोपेडिक वार्डमा ३२ शैय्या छ । एउटा सिफ्टमा दुई जना नर्स ड्युटीमा दैनिक खटिने गरेका छन् । ‘कोशीको अर्थोपेडिक वार्ड दैनिकजसो विरामीले भरिभराउ हुने गरेको छ,’ नर्स श्रेष्ठले भनिन्, ‘एउटा सिफ्टमा दुई जना नर्सले भर्ना भएका ३० जना विरामी हेर्नुपर्ने बाध्यता छ । एक जना नर्सले १६ भन्दा बढी विरामी हेरेपछि बल्ल ड्युटी समय सकिने गरेको छ । ’
कोशी अस्पतालकोे स्त्री तथा प्रसुती विभाग भित्रको समस्या पनि उस्तै छ । यो विभाग ७० शैय्याको छ । जसमध्ये शल्यक्रिया गरेपछि राखिने १० वेडको पोस्टअप वार्ड रहेको छ । पोस्टअप वार्डमा कार्यरत एक जना नर्सले १० जनासम्म विरामी हेर्नुपर्ने बाध्यता रहेको पोस्टअप वार्डमा कार्यरत नर्स ममता श्रेष्ठले बताइन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक पोस्टअप बराबर एक नर्स हुनुपर्छ । त्यस मापदण्डअनुसार पोस्टअपमा १० जना नर्सको आवश्यकता पर्छ । तर, अस्पतालले उक्त मापदण्ड पूरा गर्न सकेको छैन ।
अस्पतालले मापदण्ड पूरा गर्न नसक्नुको कारण आवश्यकताअनुसार नर्सको संख्या नहुनु हो । आइसियूसहित अन्य १४ वटा विभागको अवस्थामा पनि उस्तै रहेको छ । कोशी अस्पताल ३ सय ५० शैय्याको हस्पिटल हो । जनरल वार्डमा एक जना नर्सले ४० जनासम्म विरामी हेर्नुपर्ने अवस्था रहेको छ । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकार अस्पताल भएकोले यहाँ प्रदेश १ बाहेक मधेश प्रदेश र भारतसम्मका विरामी आउने गरेका छन् । गुणस्तरीय उपकरण र सस्तो शुल्कमा दक्ष जनशक्तिबाट उपचार हुने भएकाले यो अस्पताल नागरिकको पहिलो रोजाइमा पर्छ । तर, नागरिकले अपेक्षित स्वास्थ्य सेवा प्राप्त गर्न भने कठिन बन्दै गएको छ । त्यसको एउटा कारण हो– आवश्यकता अनुसार नर्सहरू नहुनु । अस्पतालले मापदण्ड पूरा गर्न नसक्नुको कारण आवश्यकता अनुसार नर्सको संख्या नहुनु हो ।
अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालमा नर्सको जनशक्ति पर्याप्त मात्रामा नभएका कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना हुन नसकेको बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयूमा एउटा बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने हुन्छ । नर्सिङ जनशक्ति कम हुँदा त्यो मापदण्डलाई पालना गर्न सकेका छैनौँ ।’
अस्पतालका अनुसार मापदण्ड पूरा गर्ने हो भने अस्पतालले ३ सय ५० जना नर्स नियुक्त गनुुपर्ने हुन्छ । तर, त्यसमा अस्पताल र सरकार दुवै मौनजस्तै देखिन्छन् । कोशी अस्पतालकी नर्सिङ प्रमुख मन्जु यादवले उत्पादित जनशक्ति खपत गर्न नसक्दा सरकारी अस्पतालहरूमा नर्सको अभाव भएको बताउँछिन् । उत्पादित जनशक्तिको खपतको समस्याका कारण अस्पतालमा बिरामी र नर्सको अनुपात पनि मिलेको छैन ।
उनले भनिन्, ‘सरकारले अस्पतालमा बिरामी र नर्सको अनुपात मिलाउन सक्यो भने बिरामीले गुणस्तरीय सेवा पाउने थिए । वर्षौंदेखिकोे दरबन्दीअनुसार कोशीमा पुग्दो मात्रामा नर्सको पदपूर्ति भएको छैन । ’ विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालले सेवा दिन नसकेको उनले स्वीकार गरेकी छन् । उनी भन्छिन्, ‘हाम्रो अस्पतालमा ३५० भन्दा बढी नर्सको आवश्यकता छ । अहिलेको अवस्थामा हामीसँग जति नर्स छन्, त्यतिले नै काम चलाउनुुपर्ने बाध्यता छ । हामीसँग नर्स छैनन्, हामी उपचार गर्न सक्दैनौँ भने हामीले भन्न मिल्दैन ।’
कोशीमा १ सय ९९ जना नर्सको दरबन्दी रहेको छ । अस्पतालमा अहिले २ सय ५० देखि ३०० जना नर्सको आवश्यकता रहेको यादवको भनाइ छ । उनले भनिन्, ‘अस्पतालमा ३ सय जना नर्स भए भने मात्र हामीले गुणस्तरीय सेवा दिन सक्छौँ ।’ नर्सले सेवा सुविधा नथपिँदा सेवा राम्रोसँग दिन नसक्ने अवस्था भएको उनले बताइन् । नर्सलाई दिने भत्तामा पनि राज्यबाट विभेद गरेको उनले गुनासो पोखिन । ‘ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई तलबको २५ प्रतिशत भत्ता दिने गरिन्छ,’ उनले भनिन्, ‘यहाँ कार्यरत नर्सलाई तलब बाहेक केही पाउँदैनन् । यहाँ यसरी विभेद गरिएको छ ।’
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दरबन्दी सिर्जना गर्न सकेमा मात्र बिरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ । संगठनले बनाएको मापदण्डअनुसार आईसीयू, भेन्टिलेटर, इमर्जेन्सी, प्रसूति र जनरल वार्डहरूमा दिने सेवा फरक हुन्छन् ।
विश्व स्वास्थ्य मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा उपचाररतका लागि एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ । साधारण शैय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने उल्लेख गरिएको छ । तर, बालबालिकाको साधारण शय्यामा भने एक जना नर्सले चार जना बिरामी हेर्नुपर्ने हुन्छ । प्रसूतिका लागि लेबर कक्षमा एक जना बिरामीका लागि दुई जना नर्सको आवश्यकता पर्छ । नेपालका विभिन्न सरकारी अस्पतालको तथ्याङ्क हर्ने हो भने नर्सको जनशक्ति अपुग देखिन्छ । सरकारले २०५८ देखि स्वास्थ्य क्षेत्रमा नयाँ दरबन्दीको सिर्जना गरेको छैन ।
विश्व स्वास्थ्य संगठनको मापदण्डको अनुपातमा नर्सको दरबन्दी नहुँदा अस्पतालहरूले गुणस्तरीय सेवा सुविधा दिन नसकेको कोशी अस्पतालकी अर्थोपेडिक वार्डको नर्सिङ इन्चार्ज लजिता योन्जनले बताइन् । उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले भनेअनुसार अस्पतालका विभिन्न भागमा दरबन्दी हुने हो भने सबै समस्याको समाधान हुन्छ ।’
नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार नेपालमा हालसम्म १ लाख १२ हजार ५७६ जना नर्स दर्ता भएका छन् । जसमध्ये विशेषज्ञ नर्स (स्नातकोत्तर गरेका) एक हजार १९४ जना, स्टाफ नर्स ७३ हजार ५१४ जना, मिडवाइफ ५१ जना, एएनएम (अनमी) ३६ हजार ९६९ जना र विदेशी नर्स ८४८ जना दर्ता भएको काउन्सिलको तथ्यांकमा उल्लेख गरिएको छ ।
बर्सेनि विभिन्न तहका नर्सिङ जनशक्ति ७ हजारको हाराहारीमा उत्पादन हुने गरे पनि अबको केही वर्षमा त्यो संख्यामा कमी आउने नेपाल नर्सिङ संघले जनाएको छ ।
अहिले चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिएर सीमित कोटामा मात्र नर्सिङ पढाइ हुन थालेको छ । आयोगले लिएको परीक्षामा धेरै कम विद्यार्थी उत्तीर्ण हुँदा आउने वर्षहरूमा नर्सिङको उत्पादन एकदमै कम मात्रामा हुने नेपाल नर्सिङ संघले बताउँदै आएको छ ।