विदेशमा मृत्यु भएका दुई जनाको शव ल्याउनै समस्या

खोटाङ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । ‘लकडाउन’को अवधि अझै कहिलेसम्म लम्बिन्छ भन्ने कुने एकिन छैन । तर ‘लकडाउन’का कारण विदेशमा मृत्यु भएका दुई नेपालीको शव स्वदेश ल्याउन समस्या भएको छ

भ्रमणका लागि युएई पुगेको समयमा ज्यान गुमाएका खोटाङ ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका खोटाङकै साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको छ ।

भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ ।

हृदयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताउनुभयो ।

यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ । जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेसियामै रहनुभएका उनका भतिजा तिलाबहादुरले जानकारी दिनुभएको छ ।

कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । मृतकका परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन उहाँले दिनुभयो ।

– रासस

सोमबार, ०१ बैशाख, २०७७, बिहानको १०:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर