कथा ब्रुमर, लोडर र दमकलको

  गोकुल पराजुली

मोवाइल चलाउँदै गर्दा गुग ड्राइभ भिजिट गरें । ड्राइभमा स्टोर भएका सयौं पुराना फोटोहरु नियाल्दै जाँदा दुई वटा तस्बिरले केही जिज्ञासा सिर्जना ग¥यो । एउटा तस्बिर थियो विराटनगर महानगरपालिकाले २०७५ सालमा किनेको ब्रुमर अनि अर्को त्यही वर्ष खरिद गरेको लोडरको । धूलाम्य विराटनगरका सडकहरु कालोपत्रे हुन थालेपछि सडकलाई सँधै सफा राख्न उद्देश्यले विराटनरले ब्रुमर किन्ने निर्णय गरेको थियो । विश्वका सहरहरु यस्तै ब्रुमर प्रयोग गरेर सफा गर्ने गरेको विदेश भ्रमणका क्रममा मेयर, प्रमुख प्रशासकीय अधिकृतहरुले देखेर हुनुपर्छ हामीले किन झाडुले सँधै सडक बडार्नु भन्ने सोचेर प्रविधिमा आधारित हुने प्रयत्न गरेको हुनुपर्छ ? महानगरले सडक बडार्न ब्रुमर किन्ने निर्णय गर्दा कसैको विमत्ति थिएन । ५५ लाख रुपैयाँमा सडक सफा गर्ने आधुनिक ब्रुमर किन्नु गलत थिएन । हाम्रो सडकको गुणस्तर, सडकमा जम्मा हुने धूलो र फोहोर मैलोको अवस्था अध्ययन, प्राविधिक जाँच र इन्जिनियरबाट प्रतिवेदन लिने प्रक्रिया पूरा गरेरै महानगरले ब्रुमर किन्ने निर्णय गरेको हुनुपर्छ ।

स–साना खरिद र निर्माणमा समेत प्राविधिक अध्ययन गर्ने हाम्रा संरचनाहरुले पक्कै पनि बिना अध्ययन, बिना प्राविधिक जाँच ब्रुमर खरिद गरेन होला । तर, ब्रुमरले एकै दिन सडक सफा गरेन । जुन ब्रुमर सडकमा निस्कियो उसै दिनबाट समस्या सुरु भयो । आज ब्रुमर किनेको पाँच वर्ष बितिसकेको छ । ब्रुमरको भ्याकुमले एक बोरा धूलो सडकबाट टिपेको छैन । बरु पटक पटक ब्रुमर मर्मतको नाममा महानगरले लाखौं रुपैयाँ खर्च गरिसकेको छ । केही दिन अगाडि मात्र महानगरका प्रमुख नागेस कोइरालाको प्रेस संयोजकबाट एउटा समाचार सञ्चार माध्यमहरुमा प्रेषण गरियो ‘थन्किएर बसेको ब्रुमर मर्मतपछि चल्न थाल्यो’ भनेर । मर्मत पछि परीक्षण सेवा दिएपनि नियमित सेवाका लागि ब्रुमर कामयाव देखिएको छैन । महानगरको सडकको बनावट र गुणस्तरले ब्रुमर सञ्चालनका लागि साथ नदिएको हो वा ब्रुमरको न्यून गुणस्तरले धोका दिएको हो महानगरले प्रष्ट गर्ला भन्ने विश्वास गरौं ।

अर्को तस्बिरको थियो लोडरको । सडक बनाउँदा भाइब्रेट कम्प्रेसन गर्ने लोडर किनेका दिनदेखि कतै चलेको देखिदैन । लामो समय महानगर परिसरमा थन्किएको लोडर केही समयदेखि अन्तै कतै बन्दी झैं थन्किएको छ । महानगरपालिकाले १ करोड १५ लाख रुपैयाँ लगानी गरेर थन्क्याउन कै लागि किन किनेको होला ? लोडर किन्ने बेलामा पनि त्यसको उपयोग, त्यसबाट नगरबासीलाई पुग्ने लाभ र विकास निर्माणमा हुने योगदानका विषयमा अध्ययन भएकै हुनुपर्छ । स्थानीय सरकारले हचुवामा यति ठूलो लगानी गरेको होला भनेर आरोप लगाउन पनि भएन । तर हाम्रो नाङ्गो आँखाले त्यो लोडर प्रयोगमा आएको देख्न पाएन ।

हाम्रा स्थानीय तहहरु आफैंले सडक निर्माण र मर्मत गर्दैनन् । सडक निर्माण उपभोक्ता समिति मार्फत् वा कोटेशन र ठेक्काबाट ठेकेदार मार्फत् गराइन्छ । ठेकेदारबाट काम गराउँदा यस्ता हेभी इक्विपमेन्ट उनीहरुसँगै हुन्छ । उपभोक्ताले हेभी इक्विपमेन्ट प्रयोग गर्नै पाउँदैनन् । महानगरसँग सडक मर्मत गर्नका लागि मर्मत शाखा पनि छैन । भएपनि आफैंले त्यो काम गर्ने गरिएको छैन । अनि के प्रयोजनका लागि यो लोडर किनियो होला ? ठेकेदारलाई भाडामा लगाउनका लागि किनेको भए अहिलेसम्म चेनगेटभित्र थुनेर बिचरो त्यो निर्जीव यन्त्रलाई किन बेकामे बनाएको होला ? गुगल ड्राइभ भित्र बन्द भएको पुरानो तस्बिरले दुबै यन्त्रको बारेमा यति सोच्न बाध्य गरायो । कतै हामीले कमिशन लाभका लागि त ती यन्त्र उपकरणहरु किनेनौं ? एउटा २०–४० लाख को हलुका सवारी किन्दा त ५÷७ लाख रुपैयाँ कमिशन पाइन्छ भने यस्ता उपकरणमा कमिशनको खेलो हुँदैन भनेर पत्याउनु बालापन मात्र होला फेरि । तर यो विषय नयाँ मेयर कुर्सीमा बसेपछि सार्वजनिक गरेको स्वेत पत्रमा कतै उल्लेख भएन । त्यति गम्भीर विषय स्वेतपत्रमा उल्लेख नगरी कुन मिडियाले कतिको सूचना र विज्ञापन लगे भनेर स्वेतपत्र जारी गरेको होला । यो कुरा झन् बुझिसक्नु छैन ।

अर्को कुरा पनि छ, त्यो हो अमेरिकाबाट अनुदान सहयोगमा दमकल ल्याउन गरेको खर्च । त्यो दमकल कहिले आउला भनेर कुरेको पनि पाँच वर्ष पुग्न लाग्यो । दमकल ल्याउने विज्ञको जागिरको म्याद नयाँ मेयरले पनि थपिदिनुएको छ क्यारे । दिनभरि पढेर पनि नसकिने स्वेतपत्रको कुनै कुनामा पनि नआएको दमकल ल्याउन खर्च गरेको भाडावापतको ५ लाख रुपैयाँ भुक्तानीको खोजी भएको भेटिएन । ड्राइभमा भेटिएको दुई तस्बिरले नआएको दमकलको विषय स्मरण गराइदिएको मात्र हो । त्यो दमकल कुन रङ्को होला, कस्तो अनुहारको होला, नेपालमा हामीले देखेको जस्तै होला कि अमेरिकातिर अकै अनुहारको दमकल होला भन्ने कौतुहलता चलिहरको छ । विराटनगरको विकासका लागि सक्रिय मेयर ज्यूले पक्कै पनि त्यो कौतुहलता मेटाउनु होला । होइन भने कि दमकल ल्याउन पहल गर्नुहोला कि त दलकल ल्याउन दिएको पैसा फिर्ता गरें भनेर सार्वजनिक गर्नु होला । विकास भनेको सुशासन पनि हो । त्यसैले ब्रुमर, लोडर र दमकलको विषयमा यथार्थ (स्वेतपत्र) सार्वजनिक गर्ने विकल्प पनि उहाँसँग सुरक्षित छ । पक्कै गर्नु होला ।

आइतबार, २२ माघ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर