संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेश स्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गा भलिबल टिमले जितेको छ । खाँदबारीमा आज भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३ /१ को अन्तरले हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेस्रो र पाँचथर भलिबल टिम चौथो भएको छ ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुङ्गाका समीप श्रेष्ठ घोषित भए । वेस्ट स्पाईकर ओखलढुङ्गाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुङ्गाले नगद १ लाख ११ हजार र २ सय १० तोलाको चाँदीको शिल्ड हात पार्यो । उपविजेता बनेको भोजपुरले ५५ हजारमा चित्त बुझाएको छ ।
प्रतियोगितामा १ नम्बर प्रदेशका १३ जिल्लाका टिम सहभागी भएको आयोजक सूर्य माबिले जनायो । विजयी टिमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरे । रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०५८ साल बाट जिल्ला स्तरीय, २०७१ सालबाट पूर्वाञ्चल स्तरीय हुँदै २०७४ साल बाट प्रदेश १ स्तरीय भएको थियो । खेलकै माध्यमबाट विकृति विसङ्गतिलाई हटाउँदै खेल क्षेत्र बाट संखुवासभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।