सम्पादकीय
विराटनगरमा च्याउसरी खुलेका स्वास्थ्य प्रतिष्ठानहरु ठगीधन्दामा संलग्न रहेको मुद्दा नौलो होइन । तर, उनीहरुको धन्दाबाट पीडित हुनेहरु लगातार थपिँदै जानु चिन्ताको विषय हो । आफ्नो व्यवसाय चलाउन निजी क्लिनिकहरुले जुन हर्कतहरु गरिरहेका छन्, ती अक्षम्य अपराधका नमूना हुन् । मान्छेको जिन्दगीमाथि नै खेलबाड गर्ने दुस्साहस गर्ने निजी क्लिनिकहरुलाई हदैसम्मको कारवाही हुनुपर्छ । विरामीलाई ठग्ने, आफ्नोमा आउँदै नआउने चिकित्सकको नाम लिने र उनीहरुलाई भ्रममा पार्ने हर्कत अपराध हो । आफूले रोजेको चिकित्सकलाई देखाउन पाउने विरामीको अधिकार छिन्ने र आफ्नो फाइदाका लागि विरामीलाई दुरुपयोग गर्नेलाई तत्काल कारवाही हुनुपर्छ । अन्यथा स्वास्थ्य क्षेत्रको ठगी अरु मौलाएर जानेछ ।
विराटनगर पछिल्लो समय स्वास्थ्योपचारको हब बनेको छ । प्रदेश १ र मधेश प्रदेशका धेरै नागरिक यहाँ उपचारका लागि आउँछन् । यहाँका अस्पताल र चिकित्सकहरुको भरोसा गरेर आउनेहरुलाई बिचौलियाले आफ्नो फन्दामा पार्दै आएका छन् । पछिल्लो उदाहरण हुन्, खोटाङको दिक्तेल नगरपालिका – २ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठ । टाउकोमा समस्या भएपछि उपचारको लागि मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकासँग उपचार गरेकी थिइन् । फलोअपको लागि विराटनगर आइपुग्दा उनी बिचौलियाको फन्दामा परिन् । उनलाई झुक्याएर शुभ स्वस्तिक पोलिक्लिनिकमा पु¥याएका विचौलियाले डा रोका त्यहीँ आउने बताएर ढाँटे । पोलिक्लिनिककै कर्मचारीले पनि झुट बोलेर उनलाई त्यहीँ उपचार गर्न बाध्य पार्न खोजे । यो सरासर आपराधिक हर्कत हो । यस्तो काम गर्नेलाई राज्यका निकायहरुले कारवाहीको दायरामा ल्याउनुपर्छ ।
मान्छेका निम्ति आफ्नो जिन्दगी सबैभन्दा प्रिय र मूल्यवान हुन्छ । विरामी परेका बेला हरेकले सम्झने भनेकै स्वास्थ्यकर्मीलाई हो, जसले उपचार गरिदिएपछि विरामीले नयाँ जीवन पाउँछ । यस्तो बाध्यताका बिरामीलाई नै ठग्नेहरुले गरेको अपराधले स्वास्थ्य क्षेत्रको बद्नामी पनि गरिरहेको छ । मानव जीवनमाथि खेलबाड गर्नेहरुलाई स्वास्थ्य क्षेत्रको जिम्मा लगाउन किमार्थ सकिन्न । चर्चित चिकित्सकहरूको नाम बेच्दै विरामीलाई ठगी गर्ने निजी क्लिनिकहरू बिचौलिया परिचालन गरेर आफ्नो व्यवसाय चलाउन खोजिरहेका छन् । एउटा राम्रो चिकित्सकले दशकौं लगाएर आर्जन गरेको जनविश्वासलाई एकैपटकमा ध्ुलीसात पार्ने यस्तै ठगहरुले हो । यसर्थ चिकित्सक र जनस्वास्थ्यका अन्य सरोकारवालाहरुले पनि यस्ता धन्दाविरुद्ध दृढतापूर्वक उभिनुपर्छ ।
स्वास्थ्य क्षेत्रमा भइरहेको ठगीधन्दा बहुआयामिक छ । फार्मेसीदेखि प्रयोगशालासम्मै विरामी ठगिने अवस्था विद्यमान छ । विराटनगरभित्रै रहेका ठूला अस्पताल बाहिरका केही फार्मेसी संचालकहरूले कमिसन दिएरै बिचौलिया राख्ने गरेको यसअघि नै खुलेको थियो । बिचौलिया राखेका फार्मेसीले बिरामीलाई भ्रमित पारेर आफू अनुकूलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधि पसलमा ल्याउन पहल गर्छन् । यसबाहेक एम्बुलेन्स चालकलाई प्रभावमा पारेर आफ्नै क्लिनिक वा अस्पताल ल्याउन बाध्य पार्ने धन्दा पनि उत्तिकै चलेको छ । यी सबै विकृत र आपराधिक शैली बन्द गराउन राज्ययन्त्र अग्रसर हुनुको विकल्प छैन । राजधानीमै यस्ता गतिविधि खुलेआम भइरहँदा प्रदेशको स्वास्थ्य मन्त्रालय, सिंगो प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकार मातहतका नियामक निकायहरु रमिते बन्नु आश्चर्यजनक छ । यो मौनता तत्काल अन्त्य हुनुपर्छ ।