सार्वजनिक यातायातमा चमेरे सिटको धन्दा

 गोकुल पराजुली

बहुसंख्यक नागरिकले गन्तव्य तय गर्न सार्वजनिक यातायातको प्रयोग गर्दै आएका छन् । निजी सवारी साधनको पहुँच थोरै नागरिकसँग मात्र भएकोले आम सर्वसाधारणका लागि सार्वजनिक यातायात नै अनिवार्य छ । सार्वजनिक यातायात क्षेत्रको उपभोग आम साधारणका लागि असहज र कष्टपूर्ण छ । तरपनि सर्वसाधारणले बाध्य भएर सेवा लिइरहेका छन् । सार्वजनिक यातायातबाट यात्रा गर्दा भोग्नु परेका कयौं कष्टदायी उदाहरण हामी हरेकसँछ छन् ।

धेरै वर्ष अगाडि विद्यार्थी हुँदाको एक समय मलाई काठमाडौं जानुपर्ने भएकोले रात्री बसको टिकट काट्न विराटनगर बसपार्कमा गएँ । बसको टिकट बुकिङ भइसकेको रहेछ । जसरी पनि जानु पर्ने भएकोले टिकट खोजिदिन आग्रह गरें । टिकट काउन्टरमा बसेका एक जनाले एउटा चमेरे सिट बाँकी छ भन्ने जवाफ दिए । जानै पर्ने भएकोले त्यहि भएपनि बुकिङ गरें पूरापुर भाडा तिरेर । साँझ गाडी चढें बसका सबै सिट भरिएका थिए । मैले मेरो सिटको दाबी गरें । कन्डक्टरले एउटा मुढा खोजेर ल्याइदिए । मैले मुढामा नबस्ने जिकिर गरें । चमेरे सिट भनेकै मुढामा बस्ने हो भन्ने उनले जवाफ दिए । म अवाक मुढामा बसेर रातभर यात्रा गरें ।

देशमा गणतन्त्र आइसकेको छ । विकासले पनि धेरै नै फड्को मारेको छ । पल्लो टोलका आफन्तले गरेको टेलिफोनको खवर छोड्न दौडनु पर्ने समय फेरिएर ठाउँको ठाउँ लेखेर, बोलेर, हेरेर गफगर्ने समयमा हामी विकसित भइसकेका छौं । हाम्रो खानपान, रहनसहन, चालचलन सबै बदलिएको छ । समयसँगै धेरै कुराहरु अघि बढेका छन् । तर, हाम्रो सार्वजनिक यातायातको क्षेत्रमा कुनै तात्विक भिन्नता आएको छैन ।
मैले २५ वर्ष अगाडि चमेरे सिटमा बसेर जसरी विराटनगर–काठमाडौंको यात्रा तय गरेको थिएँ अवस्था आजपनि उस्तै छ । यात्रुहरु ठगिने तरिका बदलिएका छन् तर ठगी गर्ने प्रवृत्तिमा बदलाव आएको छैन । यात्रुसँग पूरापूर भाडा लिएर कमसल सेवा दिने र ठगी गर्ने धन्दा आज पनि चलिनै रहेको छ ।

गएको हप्तामात्र मैले आन्तरिक यात्राका क्रममा सार्वजनिक यातायातको प्रयोग गरें । यस पटक पनि त्यसैगरी ठगीमा परियो । अर्थात् यातायात क्षेत्रका दलालहरुले यात्रुहरुलाई नियमित रुपमा ठगी गर्ने क्रममा यस पटक म पनि परें । हेटौंडा–विराटनगरको यात्रा गर्ने क्रममा खुला काउण्टर खोलेर बसेकाहरुसँग टिकट काटेर सिट बुक गर्नु यात्रुहरुको बाध्यता हो । सोही बाध्यतामा परेको मैले टिकट लिएँ । नारायणगढ–काँकडभिट्टा रुटमा चल्ने बसको ७ र ८ नम्बरको सिट बुक गरियो । बसमा चढ्दा दुवै सिटमा पहिल्यैदेखि यात्रुहरु बसिआएका थिए । उनीहरु चन्द्रपुरमा झर्ने रहेछन् । कण्डक्टरले उनीहरुलाई सिट छाडेर उभिन निकै आग्रह गरे तर उनीहरु मानेनन् । भने ‘हाम्रो पनि पैसा नै हो, हामीले पैसा तिरेर बसेका छौं र खाली सिटमा बसेका हौं, अहिले किन उठ्ने ?’ उनीहरुको कुरा गलत थिएन । हाम्रो लामो यात्रा भएको उभिएर यात्रा गर्न सम्भव पनि थिएन । निकै गलफत्ति चलेपछि मैले भनें ‘भैगयो हामी चन्द्रपूरबाट सिटमा बस्छौं ।’

हामीले त केही घण्टा कष्ट सहने सम्झौता ग¥यौं । तर गाडीवालाले कष्ट थप्न हुन्न भन्ने हेक्का गरेन । जब बस पथलैया पुग्यो तब बसमा खुट्टा राख्न नसक्ने गरी यात्रुहरु कोच्न थाल्यो । सास फेर्न नसक्ने गरी मान्छे कोचेर आजपनि सर्वसाधारणलाई यात्रा गराउने र उनीहरुबाट पूरा भाडा असुल्ने ठगी धन्दा चलिहरको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्नुको अर्थ पैसा तिरेर सेवा खरिद गरिएको हो । खरिद गरेपछि गुणस्तरीय वस्तु वा सेवा पाउनु नागरिकको अधिकार हो । तर नागरिकहरुले त्यो अधिकारको निर्वाध उपभोग गर्न पाएका छैनन् । पाइलापाइलामा यात्रुहरु ठगिने अवस्था छ ।
अर्को गम्भीर कुरा पनि के छ भने नारायणघाटबाट बिहान ५ बजे छुटेको त्यो बसले ११ बजे चन्द्रपुरमा यात्रुहरुलाई दिसा पिसाव गर्न गाडी रोक्यो । त्यहाँबाट हिडेको गाडी ४ बजे मात्र बरमझियामा रोकियो । गाडीमा यतिधेरै लोकल यात्रु चढाइयो कि लामो दूरीका लागि यात्रा गरेकाहरुको आवाज सुन्ने र उनीहरुको कष्ट बुझ्ने प्रयत्न गाडीका स्टाफहरुले गर्दैगरेनन् । खाना र खाजा खुवाउन कस्तो ठाउँमा गाडी रोकिइन्छ र कमिशनका लागि कुन गुणस्तरको खाना खुवाइन्छ भन्ने त सबै जानकार छौं ।

२५ वर्ष अघि उमेर सानै भएकोले ठगीमा पर्दा खासै प्रतिवाद गर्न सकिएन । आजभोलि उमेरको परिवक्ता बढ्दै गएछ । अनावश्यक वादविवाद गर्न उचित नलागेर फेरिपनि प्रतिवाद गरिएन । एक दुई जनाले, एक दुई पटक प्रतिवाद गरेर पनि विकृत संस्कृतिकै रुप लिइसकेको यो धन्दामा तत्काल परिवर्तन आउने देखिदैन ।

नेपाल आयल निगमले दुईचार रुपैयाँ इन्धनको मूल्य बढाउँदा भाडा बढाउन हतार गर्ने यातायात व्यवसायीहरु वास्तवमा व्यवसायी बन्न सकेको देखिदैन । उनीहरुले दिइरहेको सेवा व्यवसायिक सिद्धान्तमा आधारित छैन । हाम्रो देशको वास्तविक अवस्था मूल्यांकन गर्ने हो भने हाम्रो सार्वजनिक यातायातको क्षेत्रलाई हेर्दा पुग्छ । त्यसैले जतिसुकै आधुनिक युगमा पुगेपनि, जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि हाम्रो सार्वजनिक क्षेत्रबाट प्रवाह गरिने सेवाहरु अत्यन्त कमजोर छन् । व्यवसायिक भएका छैनन् । यो चिन्ताको विषय हो । सम्बन्धितहरु यस तर्फ गम्भीर बनुन् ।

आइतबार, ०८ माघ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर