सुरक्षित आकाशका शर्त

 सम्पादकीय

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान आइतबार दुर्घटनामा परेपछि फेरि एकपटक नेपाली आकाशको सुरक्षाबारे प्रशस्त प्रंश्न उब्जिएका छन् । यस्ता हरेक दुर्घटनापछि सुरक्षित आकाश र उडानबारे छलफल चल्छ, जसै यस्ता दुर्घटना विस्मृतिमा धकेलिँदै जान्छन्, बहस पनि सेलाउँदै जान थाल्छन् । यो क्रम निरन्तर चलिरहेको छ । आइतबार भएको दुर्घटनामा ६९ जनाको शव फेला परिसकेको छ । अरु बेपत्ताको खोजी जारी छ । अकल्पनीय यो दुर्घटनाको कारण खोज्न सरकारले समिति गठन गरेको छ । तर, यो पनि यसअघिका छानबिन समिति जस्तै औपचारिकता नबनोस् ।

पोखरा दुर्घटना कहिल्यै बिर्सन नसकिने क्षति त हुँदै हो, सँगसँगै यसबाट नेपालको पर्यटन क्षेत्रले भोलिका दिनमा बेहोर्नुपर्ने चुनौती झनै डरलाग्दो छ । त्यसै पनि युरोपेली युनियनले नेपाली आकाशलाई हवाई सुरक्षाका दृष्टिले न्यूनतम मापदण्डसमेत पूरा नगरेको भन्दै कालोसूचीमा राखिरहेका बेला यो दुर्घटनाले उनीहरूको तर्कलाई बल पुगेको छ । निश्चय पनि दुर्घटनाको पूर्वजानकारी हुँदैन, तर त्यसको नियन्त्रणका लागि पूर्वतयारी भने गर्न सकिन्छ । काठमाडौंबाट पोखराका लागि उडेको विमान न खराब मौसम, न अन्य केही समस्या, कसरी दुर्घटित भयो ? यो नखोजी नहुने विषय हो ।

नेपालमा हवाई दुर्घटनाको दर निकै बढी छ । मूलतः सुगम क्षेत्रमा उडान गर्ने जहाजहरू सुरक्षित नै जस्तो देखिए पनि दुर्गम क्षेत्रमा यो समस्या बढी नै छ । यसपटक त पोखरामै दुर्घटना भयो । दुर्गमका लागि सबैभन्दा छिटो यातायात सुविधा भनेकै हेलिकप्टर वा हवाईजहाज भएकाले सोही क्षेत्रमा केन्द्रित भएर उडान हुने कम्पनीकै संख्या बढिरहेको छ । यसले पनि नेपालको हवाई सुरक्षा चुनौतीपूर्ण बनेको छ । अर्कातर्फ नेपालको मौसम प्रक्षेपण गर्ने निकायको प्रभावकारिता नहुँदा पनि सम्भावित दुर्घटनाबाट पूर्वसतर्कता राख्न सकिएको छैन ।

त्यसो त मुलुकको सात दशकभन्दा लामो हवाई इतिहासमा धेरै जहाज दुर्घटना भएका छन् ।सन् १९५५ को मार्चमा कालिंगा एयरको डीसी–३ जहाजबाट सुरु भएको यस्तो दुर्घटनाको श्रृंखला पोखरा दुर्घटनासम्म आइपुग्दा कुनै पनि छानबिन गम्भीर रूपमा भएको र सो छानबिनका प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइएको पाइएको छैन । राज्यका विभिन्न संयन्त्रहरू जसरी तदर्थवादी शैलीमा चलिरहेका छन्, ठीक त्यसैगरी हवाई सुरक्षाका क्षेत्रमा काम भइरहेका छन् । हवाई सुरक्षाको न्यूनतम मापदण्डप्रति हरेक निकाय उत्तिकै सजग र जिम्मेवार बन्न सकेमा मात्रै उडान क्षेत्र सुरक्षित हुनेछ । अन्यथा यस्तै दुर्घटनाहरु नियमित आकस्मिकताका रुपमा दोहोरिने छन् ।

सोमबार, ०२ माघ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर