पूर्वाञ्चाल विश्वविद्यालयको अस्पताल पूर्ण क्षमतामा चलाइने

विराटनगर । सुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको अस्पताल माघ १ गतेबाट पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी थालिएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. सुनिल शर्माले प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आफूले सम्पूर्ण सहयोग गर्ने बताएपछि त्यस्तो तयारी थालिएको हो ।

विश्वविद्यालय परिसरमा पत्रकार भेटघाट गरी कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधारसहित अस्पताल सञ्चालन गर्ने बताएका हुन् ।

कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, यसमा कुनै इन्तु किन्तु परन्तु केही चल्दैन,’ सांसद शर्माले भने, ‘अस्पताल चलाउने जिम्मा हाम्रो पनि हो, मेरो तर्फबाट सबै सहयोग गर्छु, कुनैपनि हालतमा अस्पताल चलाउँनैपर्छ ।’

सांसद शर्माले अस्पताल सञ्चालनका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।नोबेल अस्पतालका सञ्चालकसमेत रहेका सांसद शर्माले अन्य उपाय नलागेमा एक बर्षका लागि चिकित्सकको व्यवस्था आफैले मिलाइदिने घोषणासमेत गरेका छन् । आसपास क्षेत्रका सर्वसाधरणको सहजताका लागि अस्पताल सञ्चालन गर्नु अपरिहार्य रहेकोमा जोड दिदैं डा. शर्माले यो बिषयमा राजनीति नगर्न सबैलाई आग्रह पनि गरे ।

शर्माले आफ्नो चुनाबी प्रतिवद्धता पत्रमै विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । मेडिकल कलेजका लागि कम्तिमा तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले त्यसैका लागि डा.शर्माले पहल बढाएका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले अब ३ सय शैयाको अस्पताल सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गरे । अस्पताल र मेडिकल कलेज सञ्चालनका अनुभवी डा. शर्मा नै सांसदमा निर्वाचित भएकाले अस्पताल सञ्चालनमा सहज हुने विश्वास पैदा भएको उनको भनाइ थियो ।

बुधबार, २१ मंसिर, २०७९, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर