धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटामा रोचक प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनका सुुनील थापा र नेकपा एमाले नेतृत्वको गठबन्धनका राजेन्द्रकुमार राई चुनावी प्रतिस्पर्धामा छन् । यी दुई उम्मेदवारले एक अर्कासँग दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् ।

एक पटक थापाले र एक पटक राईले जितेका हुन् । तेस्रो पटक आमुन्ने सामन्ने भएका थापा र राईबीचको प्रतिस्पर्धामा २०७० सालको संविधान सभा निर्वाचनमा थापाले बाजी मारेका थिए भने २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राईले बाजी मारेका थिए ।
पाख्रिवास नगरपालिका–८, मुगाका थापा र राईसँगै अन्य आठ जना चुनावी मैदानमा छन् । धनकुटाको निर्वाचनमा थापा र राईबीच नै प्रतिस्पर्धा हुने धेरैको अनुमान छ तर हेमराज भण्डारीजस्ता स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा रहेका कारण यस पटक कसले बाजी मार्ने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन जिते पनि एमालेका राईले जिल्लामा विकास निर्माणका कामहरू गर्न नसकेको भन्दै जनता परिवर्तनको पक्षमा रहेकाले आफूलाई जनताले विश्वास गरेर जिताउने कांग्रेसका थापा बताउँछन् । थापाले धनकुटामा कोरोना कहरको प्रथम लहरको महामारीको समयमा स्वास्थ्य उपचार र आठ लाख बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरू जुटाएर वितरण गरेको तथा दोस्रो लहरको समयमा पनि ७२ लाख बराबरको अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिन्टर, उपकरणसहित औषधि जिल्लाका सबै वडा तथा ६२ स्वास्थ्य केन्द्रमा वितरण गरेर जिल्लावासीलाई गुन लगाएको जनताले मूल्याङ्कन गर्ने बताउँछन् ।

कांग्रेस नेता थापाले धनकुटा अस्पतालमा जापान सरकारको अनुदानमा एक करोडको अक्सिजन प्लान्ट भिœयाउन सफल, भारतीय सरकारको सहयोगमा छिन्ताङ्गमा एम्बुलेन्स हस्तान्तरण, धनकुटाबाट काठमाडौँ गई बसेका दुई सयभन्दा बढी धनकुटेली परिवारलाई कोभिडको समयमा निःशुल्क खाद्यान्न वितरणलगायतका सामाजिक कार्य गरेकाले उनको विकल्प यस पटक जनताले नखोज्ने धनकुटाका कांग्रेसका सभापति दिनेश राई विश्वास गर्छन् । थापासँग एक पटक हारेको र अर्काे पटक थापालाई हराएका राई यसै पनि आफ्नो पार्टीको सङ्गठन दह्रोे रहेको र जनतासँग आफू घुलमिल भइरहेका कारण राईकै जित हुने एमाले नेता कार्यकर्ताको विश्वास छ ।

स्वतन्त्र उम्मेदवार भण्डारीको सक्रियतामा बेलहरा एयरपोर्टको सुरुवात, ठूला आयोजनाहरू तमोर कोरिडोर, पाख्रीबास कृषि क्याम्पस, अरुण कोरिडोरजस्ता जनताले अनुभव गर्ने खालका ठूला आयोजनाको पहल भएकाले उम्मेदवारमध्ये स्वतन्त्र उम्मेदवार बलियो उमेदवारका रूपमा देखा परेका छन् । भण्डारी आफू कसैलाई हराउनभन्दा पनि चुनाव जित्नकै लागि उम्मेदवार बनेको र पार्टीहरूसँग जनताको वितृष्णा बढिरहेकाले आफ्नो जित हुने दाबी गर्छन् ।

मङ्गलबार, २२ कार्तिक, २०७९, बिहानको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर