विनोद घिमिरे
दलहरु चुनावको तयारीमा जुटेका छन् । मंसिर ४ गतेको चुनावका लागि नेताहरु जनतासँग भेटेर वार्मअप गर्दैछन् । कात्तिक १७ गतेपछि उनीहरु प्रचारको दौडमा तीव्र ढंगले दौडने तयारीमा छन् । सबै उम्मेदवारहरू यतिबेला गाउँबस्ती पस्न थालेका छन् ।
चुनाव आएपछि उम्मेदवार बस्ती पस्ने र सकिएपछि आफ्नो दुनो सोझो गर्नतिर लागेर आफूहरूको बेवास्ता गर्ने गरेकोे टिप्पणी पटक पटक जनताबाट सुन्ने गरिन्छ । चुनावमा आफूलाई बेवास्ता गर्ने उम्मेदवारहरूलाई कडा जवाफ दिन पाइने अवसरका रूपमा जनताले चुनावलाई लिने गरेका पनि छन् ।
‘ए, बल्ल सम्झनुभयो है हामीलाई ?’ बस्ती पसेका नेतालाई जनताले पहिलो प्रहार अब यसैगरी गर्नेछन् । चुनाव दल र उम्मेदवारलाई सत्मार्गमा ल्याउन, आत्मसमीक्षा गर्न र जनताप्रति बफादार हुन प्रेरित गर्ने अवसर चुनाव हुने गरेको छ । दल र जनप्रतिनिधिबारे जतिसुकै कडा टिप्पणी र प्रतिक्रिया जनाए पनि जनताको पङ्क्तिमा चुनावी कुराले तरङ्गित बनाउनेछ । चुनावकै मुखमा जनताका मुख्य मुद्दा सबैले देख्न, पर्गेल्न र मुखरित गर्न सक्ने राम्रो अवसर पनि हुने गर्छ ।
देशका मुख्य प्रतिस्पर्धी दलहरू कोही गठबन्धन त कोही तालमेलका नाममा चुनावी प्रतिस्पर्धामा आमनेसामने भएका छन् । अहिले मुख्य प्रतिपक्षी नेकपा एमाले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको नारा फेरि ल्याउने दाउमा छ भने सत्तापक्षीय गठबन्धन लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको नारा घन्काउँदै हिँडेको छ । सत्तापक्षकै गठबन्धन घटक नेकपा माओवादी व्यवस्था होइन । अब अवस्था फेर्ने भन्दै छ भने राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा उठान गर्दैछ । मधेशका विभिन्न दलहरू पहिचानसहितको संघीयताकै बहसमै छन् भने स्वतन्त्र नामका पार्टी तथा व्याक्तिहरू भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको बहस र दलका विकल्प नै हामी नै हो भन्नमा लागिपरेका छन् ।
अहिलेको अवस्थामा चारैतिर चुनावी फन्डाको क्रममा तीव्र प्रतिवाद गर्ने तरिका पनि व्यापक बनेको छ । आफूलाई सर्वश्रेष्ठ र अरुलाई कमजोर भन्ने अराजनीतिक व्यवहारको खाँचो पनि छैन उम्मेदवारहरुमा । उम्मेदवारहरू आकर्षक नारासहित क्षमताभन्दा माथिका घोषणापत्र तयार पारेर भोट माग्न थालेका छन् । घरघर पुगिरहेका छन् । राष्ट्रको नीतिगत विकासबारेको बुझाइभन्दा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास परिवर्तनका नाममा सबै सेवा निःशुल्क दिन्छु भन्न भ्याइरहेका छन् । उनीहर जसरी पनि चुनाव चित्छु भनेर लागेका छन् । कोही चर्चाका लागि उम्मेदवार बनेका छन्, कोही रहरले बनेका छन् । कसैलाई देश बनाउने हुटहुटी पनि होला । तर, उनीहरुका घोषणा पत्रहरुले देशको विकास बोल्दैन केवल सत्ता र शक्तिमात्र प्रकट गरिरहेको पाइन्छ । विकासलाई केन्द्रमा राखेर घोषणापत्र लेख्दा र जनतासामु लैजाँदा मतदाताले पत्याउनयोग्य बनाउनुपर्दछ । त्यसमा पार्टी र नेताहरुले ध्यान दिउन् । जनताका मुद्दाहरु इमान्दारिताका साथ लेखिउन र भोलि त्यसलाई लागु गर्न पहल गरुन् ।
चुनावपछि निश्चय नै शासनसत्ता जित्नेको हातमा हुन्छ । चाहे झिनो वा विशाल मतान्तरले विजय प्राप्त होस् । त्यसैले जित्नेहरुले शासन मात्रै नगरुन् सुशासन पनि दिउन् । उनीहरु दलको गोटी होइन क्षमतावान सांसद बनुन् ।चुनावका बेला जनतालाई आश्वासनका पोका बाँड्ने तर पछि सबै बिर्सने प्रवृत्तिले दलहरू जवाफदेही छैनन् भन्ने जनमानसमा देखिएको छ । सुशासन र लोकतान्त्रिक संस्कार बसाल्न चासो नदिने अनि सामान्य काम पनि नगर्ने प्रवृत्ति राजनीतिक रोग नै भइसकेको छ । दलहरू जिम्मेवार नभएकै कारण नयाँ संविधान जारी भएपछि पनि मुलुकले विकास र स्थिरतामा गति लिन नसकेको हो । चुनाव आउँदै गर्दा दलहरू गल्ती कमजोरी सच्याएर नै जनतासामु जानुपर्छ ।
हाम्रो समस्या नारा र प्रतिबद्धतामा होइन । हामी संविधान, कानुन, नीति, योजना, कार्यक्रम, सन्धि सम्झौता आदिमार्फत अधिकांश विषयमा प्रतिबद्ध छौँ । तर हाम्रो विचार र व्यवहारमा विचलन छ । प्रतिबद्धतालाई व्यवहारमा साबित गर्न चुकेका छौँ । हामीले नारा दियौँ । कार्याान्वयनयोग्य नीति दिएनौँ कि ’ अपजसहरू पन्छायौँ । कमजोरीबाट सिकेनौँ कि ! हामीले नारा धेरै तर काम कम पो गरेका छौँ कि ! सबैभन्दा बढी जनउत्तरदायित्व र राजनीतिक जनसेवाप्रतिको लगाव निम्छरो छ कि ! सोचौँ र त्यहीअनुसार चुनावी नारामा लागौँ । यही नै हाम्रो कर्म, मर्म र धर्म हो ।