विराटनगर ।सरकारी अस्पतालमा फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । जथाभावी हुने फोहोरबाट आउने दुर्गन्धले बिरामीसमेत हैरान भएका हुन्छन् । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीबाट निस्कने कुहिने फोहोरबाट बायोग्यास र नकुहिने फोहोरलाई निर्मलीकरण गरेर आम्दानीको स्रोत बनाइएको छ ।
यसबाट फोहरको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा र आम्दानी पनि भएको छ । कोशी अस्पतालले फोहोर बिक्री गरेर यसअघि ८ हजार रुपैयाँ आम्दानी गरिसकेको छ । विगतमा अस्पतालमा उत्सर्जन हुने फोहोर त्यतिकै फाल्ने गरेको थियो । त्यसबाट आम्दानी लिने गरी अस्पताल प्रशासनले व्यवस्थापन गरेपछि कमाइ हुन थालेको हो ।
मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारयण यादवले अस्पतालबाट उत्सर्जन हुने फोहोरलाई छुट्याएर बिक्रीयोग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाएका हुन् ।
अस्पतालबाट निस्कने फोहोर निर्मलीकरणको लागि ४ करोडको ‘अटोक्यालेप स्रेडर’ उपकरण युएनडीपीले दिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी युएनडीपीका प्रतिनिधिहरूले अस्पतालका मेसु डा. यादवलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
‘अस्पतालले कुहिने फोहोरबाट बायोग्यास र नकुहिने फोहोर बिक्री गर्न थालेको छ,’ मेसु डा. यादवले भने । फोहोर बिक्री गरेर मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुन सक्ने अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिृकत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालमा प्रयोग हुने स्लाइनका खाली बोतल, पाइप, सिरिन्ज, निडिल जस्ता वस्तु छुट्याएर राखिएको छ ।
‘अस्पतालको तीन वटा विभागको फोहर अहिले भेला पार्ने गरेको छ,’ उनले भनिन्, ‘मेडिकल, आइसियु र डायलाइसिस विभागबाट निस्किने फोहर भेला पार्ने गरिएको छ । त्यहाँको फोहोर निर्मलीकरण गरी बिक्री गर्न थालिएको छ ।’ अहिले पनि ३० देखि ४० केजी फोहोर बिक्रीको लागि तयार गरिएको उनले बताइन् । कार्टुन २५ र प्लाष्टिक २० रुपैयाँ केजी बिक्री हुने गरेको छ । सिरिन्ज केही बढीमा बिक्री हुने अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचार गराउने बिरामी र कुरुवाहरुले प्रयोग गर्ने प्लाष्टिकजन्य वस्तु तथा बोतलहरुसमेत संकलन गरेर अस्पतालले आम्दानी लिन थालेको हो । विगतमा अस्पतालबाट बोतललगायतका वस्तु कवाडी संकलन गर्नेहरुले लैजाने गरेका थिए । अब कवाडी संकलकहरुलाई प्रवेश गर्न रोक लगाएको अस्पताल प्रशासनले जनाएको छ ।
कोसी अस्पतालले प्रसुतिका क्रममा उत्सर्जन हुने फोहोर तथा सालनाल, शल्यक्रियाबाट निस्किने ट्यूमर आदि वस्तुबाट जैविक ग्यास उत्पादन गरी लाभ लिँदै आएको छ । अस्पतालबाट उत्सर्जन हुने फोहोर विसर्जनमा समस्या रहेको र सुरक्षित इन्सिनेरेटर नभएको बेला फोहोर बिक्री गरेर आम्दानी गर्ने उपाय प्रभावकारी हुने अस्पतालको बुझाइ छ । अस्पतालको फोहोर उठाउने कर्मचारीलाई मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो । यसरी बिक्री हुन थालेपछि अस्पतालको खर्च घटने भएको छ ।
फोटोः फोहर निर्मलीकरण गर्ने ‘अटोक्यालेप स्रेडर’ उपकरण कोशी अस्पतालका मेसु डा. यादवलाई हस्तान्तरण गर्दै युएनडीपीका प्रतिनिधि ।