मणि दाहाल
गणतन्त्रले १६ औंबसन्त पार गरिसकेको छ । तर गणतन्त्रका श्रष्टा दलहरु आजको दिनसम्म आइपुग्दा जनताकाबीचबाट टाढिएको अवस्थामा छन् । नराम्रा मध्येबाट राम्रालाई छान्नु बाध्यात्मक परिस्थिति बनेको छ । जनता अघि छन् । राजनीति पछि छ । दलीय प्रतिबद्धता निर्वाचनमा मात्र सीमित भैरहेका छन् । देशले सच्चा नायक खोजिरहेको छ । तर, पाउन सकेको छैन । त्यसकारण अब यो कन्तबिजोकपूर्ण अवस्थाको कारक के हो त ? गणतन्त्रको लागि जीवन मरणको आन्दोलन बाट खारिएको दलीय नेतृत्वले किन नायकत्व ग्रहण गर्न सकेन ? गम्भीर बहस हुनु जरुरी छ ।
राजनीतिक परिवर्तनपछि दलहरुमा विचारशून्य बुज्रुकवाद हावी भयो । यो समस्या नेतामा मात्र हैन कार्यकर्तामा पनि सरुवा भयो । चेतनाको भण्डार विहीन नेता तथा कार्यकर्ताको जमातले दलहरु भरिए । नेतृत्व नव महाराजको रुपमा उदायो । सर्वपूज्य नेता सीमित गुटको थाँग्रो बन्ने अवस्थाले पार्टीका सारा मान्यताहरु तहसनहस भए । अराजकताले शीर ठाडो बनायो । गुटका पूजारीहरुले निष्ठाको खिल्ली उडाउनुलाई अग्रगमनको रुपमा बुझे । साथै उनीहरु चाकरीको बिरासतमा सारा संयन्त्रहरु कब्जा गर्न सफल भए ।
व्याक्तिवादी अवसरवादले मूल्यको राजनीतिलाई समाप्त बनाइदियो । लाभको राजनीतिले प्रश्रय पायो । चाकरीबाट प्राप्त लाभलाई महानता सम्झने कुराले थितिको विकास गर्न दिएन । अमुक नेतालाई चुक्ली लगाएर प्यारो बन्नुलाई अनुशासन मान्न थालियो । उपल्लो नेता भनाउँदो गुटको थाँग्रो बन्दा व्यक्तिवाद मौलाउन पुग्यो । ज्ञानले नजान्ने अनि भनेको नमान्ने पटमूर्ख प्रवृत्तिले स्थापित मान्यतालाई तहसनहस पा¥यो । विचार र सिद्धान्त व्यवहारमा रुपान्तरण हुन सकेन । पठन संस्कृति बिलाएर गयो । पत्रिकाको शीर्षक पढेर धारणा बन्न थाल्यो ।
पार्टी स्वार्थपूर्ण सौख र संगठन अपराधको ओतमा परिणत भयो । राजनीति सीमित व्यक्तिको गरि खाने चौतारी बन्यो । पाप पखाल्ने थलोमा रुपान्तरित गरियो । पार्टीको खातिर धेरैले जीवन र जवानका कल्कलाउदा बैंसहरु सबै तिलान्जली दिए । आमाहरुको काख रित्तियो । चेलीहरुको सिंन्दूर पुछियो । तर, पार्टीलाई आजको अवस्थासम्म ल्याउने भूँई मान्छेहरु नेतृत्वको नजरमा परेनन् । तर, तिनीहरुलाई आज पनि निष्ठा प्रिय छ । संगठन प्यारो छ । तिनीहरुलाई संगठन भजाएर लाभ लिनु पनि छैन । तिनीहरुलाई नेताले चिनेनन् र चिन्न आवश्यक ठानेका पनि छैनन् । तर, आजको संक्रमणको घडीसम्म पनि पार्टीको धुकधुकी उनीहरुले नै बचाएका छन् ।
राजनीतिक दलहरु तरलताभित्र रुमलिए । यसैको जगमा टेकेर भ्रष्टीकरणले संगठित आकार लियो । युद्धको नाममा बेहिसाब लुटको श्रृङ्खलाले दलभित्रै अभिजात्य वर्गको जन्म गरायो । जनजीविका गिर्दो अवस्थामा पुग्यो । अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजारांै नवजवानहरु लामबद्ध हुने स्थिति सिर्जना भयो र आज पनि त्यो क्रम रोकिएको छैन । राजनीति आत्मासम्मानपूर्ण सेवा बन्न सकेन । राजनीतिक दलका संगठनहरु गफाडी र मतिहीनहरुको अखडामा परिणत भए । राजनीतिमा मौलाएको गणेश प्रवृत्तिले कर्मवीर कुमारहरु अन्यायको सामना गर्न बाध्य बने । बोल्ने ठाँउ कतै पाएनन् । जनप्रतिनिधिहरु धनप्रतिनिधिको रुपमा देखापरे । जनयुद्ध धनयुद्धमा परिणत भयो । पथभ्रष्टता सामान्य बन्यो । कर्मचारी प्रशासन भ्रष्टचार र कुशासनका श्रष्टा बने । विचार,निष्ठा र विधिमैत्री अन्तरजीवन हुन सकेन ।
सिद्धान्तनिष्ठ भुँई मान्छेहरु आज पनि संगठनलाई मन्दिर मानिरहेका छन् । उनीहरु नेतृत्वको सम्मान गर्छन् । तर, कुम जोडेर सेल्फीमा हानाथाप गरेर चाकरी बजाउँदैनन् । पार्टीको अनुशासन मान्छन् । तर, दास बन्दैनन् । नेताको घर पनि धाउँदैनन् । नेतालाई पनि भजाउँदैनन् । नेताको फेर समातेर समानुपातिक पनि खोज्दैनन् । अरुबेला निदाए पनि निर्वाचनको टिकट पाउने बेला र अवसरमा मात्र ब्यँुझने बहुरुपी फेशन पनि जान्दैनन् । उनीहरु राजनीति यात्राको जोगी हुन् । न त आश छ, न त त्रास नै । पाउनु पनि केहि छैन । गुम्न बाँकी पनि केही छैन । पार्टीलाई असिम माया गर्छन् । तर, आज पनि तिनीहरु गणनामा छैन । उनीहरुको प्रप्ति भनेको झण्डा र डण्डा मात्र हो ।
राजनीतिक दलहरुमा विचारवान र साहासिकहरुको अभाव अझै छैन । उनीहरु पार्टीको भावी यात्रामा असर गर्ने निर्णय जुनसुकै तहले गरे पनि बेठीक भन्छन् । तर, आजका दासहरुलाई बेठीक मन पर्दैन । बज्रस्वाँठहरु लाल बुझक्कड बनेर हल्का टिप्पणी गर्छन् । विचारको खिल्ली उडाउँछन् । वैचारिक यात्रीहरुलाई खिल्ली उडाउँछन् । पार्टीको कार्यनीति र निर्णयको तुलना गरेर धारणा बनाउन नसक्नेहरु तहगत संगठनमा हावी छन् । यस्तै विचारशून्य परजीविहरुको घेराबन्दीले नै राजनीतिलाई कन्तबिजोक अवस्थामा पु¥याएको छ । तर, पनि राजनीतिक दलहरु पछाडि फर्केर सुध्रन चाहेका छैनन् ।
राज्य मिश्रित निर्वाचन प्रणालीको परिधिमा छ । बहुमतीय निर्वाचन प्रणालीमा केही सीमित व्यक्ति बाहेक अधिकांश माफिया, तस्कर भ्रष्टचारी र तिनका मतियार मात्र जितेर जान्छन् । समानुपातिक निर्वाचन प्रणाली अति वैज्ञानिक हो । तर, यसलाई बहुलवादी बनाइयो । त्यति मात्र हैन लक्षित जाति र क्षेत्रको नाममा आफू र परिवारका सदस्यलगायत भ्रष्टचारी र प्रेमिकासम्मको भर्ती केन्द्र बनाइ बाँनरको हातमा नरिवल बनाइयो र बनाइँदै छ ।
उल्लेखित अनेकांै कारकहरुले आन्दोलनको मैदानमा खारिएर आएका राजनीति दल र तिनको नेतृत्व जनपूज्य बन्न सकेन । धनपूज्य मात्र बन्यो । जनताले केही पाउन सकेनन् । उनीहरु करदाता र मतदातामा मात्र सीमित भए । बेरोजगारी समस्याले नव जवानहरु अक्रान्त बने । उनीहरुमा राजनीतिप्रति वितृष्णा पैदा भयो । राजनीतिको नाम सुन्न चाहिरहेका छैनन् । स्वतन्त्र तर्फ आकर्षण बढिरहेको छ । स्वतन्त्रको नाममा गलत तत्व हावी हुने खतरा उतीकै छ । तर पनि राजनीति दलहरुले महशुस गरिरहेका छैनन् । सुध्रिने छाँटसम्म देखिदैन ।