खोटाङ । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् ।
मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन गरिएको थियो । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानसमेत असहज भएको बिरामीका आफन्तले बताएका छन् । अक्सिजन प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको थियो । अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बोलपत्र आह्वान गरेकामा नौवटा फर्मको आवेदन परे पनि घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो ।