विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो ।
दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १/१ गोल गरेका थिए ।
दमकले सातौँ मिनेटमा सुवासको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको आठौँ र २३ औँ मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औँ मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेन्ड भएपछि दमकलले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औँ मिनेटमा चन्द्र कुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।
पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ४८ औँ मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए ।
धरानको तर्फबाट रवि कुमार राईले ४२ औँ र लक्ष्मी याक्खाले ६४ औँ मिनेटमा १/१ गोल गरेका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।
सोमबार दुई खेल हुने भएको छ । पूर्व राष्ट्रिय खेलाडी तथा सामुदायिक केन्द्र रानीका अध्यक्ष किशोर सुब्बाले म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार बितरण गरेका थिए ।
पहिलो खेल युनाईटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने संयोजक मनोज खड्काले जानकारी दिए ।