विद्युतीकरणले फाइदै–फाइदा , विकट गाउँमा भिडियो एक्सरे सेवा

उदयपुर । विद्युतीकरणको बहुआयामिक फाइदाले यतिबेला उदयपुरको विकट पहाडी क्षेत्र ताप्लीका बासिन्दा लाभान्वित भइरहेका छन् ।
जिल्लाको विकट पहाडी ताप्ली गाउँपालिकामा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य सेवा पाइने भएपछि गाउँमा खुसी सञ्चारित भएको छ । गाउँपालिकामा विद्युत लाइन विस्तार भएसँगै गाउँपालिका केन्द्र रुपाटारस्थित स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन जडान गरेर सेवा विस्तारको तयारी भएपछि स्थानीय हर्षित बनेका हुन् ।

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको छ । वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको भिडियो एक्सरे उपलब्ध गराएको हो ।

त्यसैगरी हुरेण्डेकले औषधि चिस्यान उपकरण (रेफ्रिजेरेटर) पनि प्रदान गरेको छ । लगभग ४ लाख मूल्य बराबरको रेफ्रिजेरेटर र पोषण कर्नर उपकरण वल्र्डभिजनले स्वास्थ्य चौकीलाई दिएको गाउँपालिकाले जनाएको छ । खासगरी गर्भवती महिलाको गर्भजाँच तथा औषधिलगायत खोप भण्डारण गर्न रेफ्रिजेरेटर र बालबालिकाको पोषणसम्बन्धी काम गर्न पोषण कर्नर प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विक र उपाध्यक्ष धनमाया मगरले वल्र्डभिजनबाट प्राप्त उपकरणहरु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष विकले ताप्लीजस्तो विकट गाउँपालिकामा पनि भिडियो एक्सरेबाट गर्भजाँच गर्न पाउने वातावरण बन्नु र यसका लागि सहयोग गर्ने संस्था हुरेण्डेक र वल्र्डभिजनलाई धन्यवाद दिए ।

यी सामग्रीको भरपुर उपयोग गर्न स्वास्थ्य चौकीलाई आग्रह गर्दै अध्यक्ष बिकले विद्युत विस्तार भएपछि स्वास्थ्य, शिक्षालगायत हरेक कुरामा सहयोग पुग्ने भएकैले विद्युतीकरणमा गाउँपालिकाले बढी ध्यान केन्द्रित गर्दै आएको बताए । अध्यक्ष विकले गाउँपालिकाले संघीय सांसद सुरेशकुमार राईको पहलमा ताप्ली गाउँपालिकाका सबै वडाका बस्तीहरुमा विद्युत विस्तार भइसकेको र अब ताप्ली अँध्यारोमुक्त भएको बताए ।

उपाध्यक्ष धना मगरले यी सामग्री पाएपछि ताप्लीबासीलाई स्वास्थ्य सेवा लिन सहज भएको बताउँदै अब तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी व्यवस्थापन गरेर जनतालाई सहज स्वास्थ्य सेवा दिने योजना सुनाइन् ।

दुरदराज र बिकट गाउँबस्तीका जनतालाई सुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले वल्र्डभिजनसँगको साझेदारीमा आधुनिक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने गरिएको हुरेण्डेकका अध्यक्ष शंकर थापाले बताए ।

बुधबार, २९ भदौ, २०७९, बिहानको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर