विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आइतवारको खेलमा प्रदेश १ पराजित बनेको छ । सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
प्रदेश १ का दीपेश कँडेलले सर्वाधिक ३४ रन बनाउँदा फिर्दोस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुंगानाले १३ रनको पारी खेले । सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए । वसन्तले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यस्तै मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रनको व्यक्तिगत पारी खेलेका थिए ।
सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । बागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरपश्चिले अब भदौ २८ मा मुलपानीमा विभागीय टोली एपिएफसँग खेल्नेछ । प्रदेश १ ले पहिलो खेल वागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमवार एनआरएनसँग खेल्नेछ ।