कोरोनाको त्रासः स्वदेश फर्कन मानेनन् युरोप र अमेरिकाका पर्यटक

काठमाडौं । नेपाल घुम्न आएका अमेरिका र युरोपका विभिन्न देशका १५ जना विदेशी पर्यटकले स्वदेश फर्किन इन्कार गरी मनाङमै बसिरहेका छन् ।

विभिन्न देशबाट नेपाल आइपुगेका पर्यटकलाई ती देशले स्वदेश फर्काउन बिमान चार्टर गरेपनि उनीहरु स्वदेश फर्कन नमानेका हुन् ।

जिल्लाका विभिन्न स्थानमा बसिरहेका पर्यटकले घर फर्किन नमानेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायललगायतका युरोपियन देशका पर्यटक मनाङमा रहेका छन् ।

माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको प्रशासनले जनाएको छ । आफ्नो देशमा भन्दा कोरोना (कोभिड–१९) को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेका हुन् ।

जिल्लाको नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन नसकेको प्रशासनले जनाएको छ । यस्तै
तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने यकिन नभएको प्रजिअ पौडेलले बताउनुभयो ।

विदेशी नागरिकले आफ्नो देशभन्दा नेपाल सुरक्षित रहेको भन्दै तत्काल स्वदेश नफर्किने बताएको प्रशासनले जनाएको छ । भाइरसको जोखिम नेपालमा कम रहेको र हिमाली जिल्लामा सङ्क्रमण फैलिनसमेत नसक्ने भएकोले फर्कन नचाहेको अमेरिकन नागरिक डेभिडको भनाइ छ ।

सोमबार, २४ चैत, २०७६, बिहानको ०९:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर