विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो सङ्घको अध्यक्षमा प्रवीण कुमार कार्की पुन : निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रवार सम्पन्न भएको आइटिएफ तेक्वान्दो सङ्घ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्की यसअघि पनि आइटिएफ तेक्वान्दो सङ्घ प्रदेशको अध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले तेक्वान्दो खेलको विकास गरेर अगाडी बढ्ने बताए । राज्यले खेलकुद क्षेत्रमा पर्याप्त बजेट बिना योजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुटाएर यस क्षेत्रको विकास गरेर अगाडी बढ्नुपर्ने बताए ।
आइटिएफ तेक्वान्दो सङ्घको उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिव चन्द्र बहादुर तामाङ, कोषाध्यक्ष ओम कुमार श्रेष्ठ रहेका छन् । यस्तै सङ्घको सदस्यहरूमा जितन थापा, प्रलाद राउत, वीर बहादुर तामाङ, विक्रम लिम्बु, केरिसा आचार्य, आयूषा तामाङ र दिलन राई रहेका छन् ।
कार्यक्रम खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोबाट सहभागी हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । अरू खेलमा भन्दा तेक्वान्दोबाट सहभागी हुने खेलाडीले गोल मेडल जित्ने भएकोले यस खेलमा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भई मेडल जितेर ल्याउने खेलाडीहरूलाई विगतमा भन्दा यस पटक नगदसहित विशेष सम्मान गरिने उनले बताए ।
कार्यक्रममा खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य शैलेश विष्टले एक घर एक खेलाडी उत्पादन अभियानलाई बनाएर खेलकुद क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विराटनगर ४ का वडा अध्यक्ष जितन थापाले राष्ट्रिय चिनाउने खेलकुद क्षेत्र भएकोले यसको विकास गरेर लैजानुपर्ने बताए ।