बिरामी नफर्काउन मानव अधिकार आयोगको अपिल

कतिपय घरधनीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको जस्ता समाचारप्रति पनि आयोगको ध्यान आकृष्ट

विराटनगर । सामान्य रुघाखोकी तथा ज्वरोका बिरामीलाई स्वास्थ्य संस्थाले उपचार नगरी घर फर्काएको घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले त्यस्ता बिरामीको उपचार गर्न र घर नफर्काउन स्वास्थ्यकर्मी तथा सरकारलाई अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले जनताको स्वास्थ्यको अधिकार रक्षा गर्न सरकार एवं स्वास्थ्यकर्मीसमक्ष अपिल गरेको हो । मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्चरक्तचाप, मानसिक रोग जस्ता रोगहरूबाट पीडितहरूको उपचार तथा औषधीको अपर्याप्तताको कारण बिरामीहरूमा समस्या उत्पन्न हुन थालेको उजुरी प्राप्त भएको पनि आयोगले जनाएको छ।

‘विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौं उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायतका अस्पतालहरूले बहिरङ्ग सेवा बन्द गरि बिरामीलाई फर्काएको, बिरामीहरूले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको जस्ता समाचारप्रति पनि आयोगको ध्यान आकृष्ट भएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ, ‘अतः यस जटिल परिस्थितिमा कोभिड–१९ लगायतका सबै गम्भीर प्रकृतिका बिरामीहरूको समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाइ हरेक व्यक्तिको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न आयोग नेपाल सरकार, सम्पूर्ण स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरूलाई विशेष आग्रह गर्दछ।’

आयोगले सबै स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालकलगायत सुरक्षाकर्मीहरूलाई आवश्यकता अनुरूप व्यक्तिगत सुरक्षा कवचको उपलब्धता र उनीहरूबाट हुने नियमित सेवा प्रवाहमा आफू विश्वस्त हुन चाहेको पनि बताएको छ।

आयोगले नेपालको संविधान तथा कानुन एवं अन्तर्राष्ट्रिय कानुनबमोजिम प्रत्याभूत गरिएका हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

आइतबार, २३ चैत, २०७६, दिउँसोको ०४:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर