विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । दैनिक आकस्मिक सेवाका लागी आउने बिरामीको चापको तुलनामा साँघुरो संरचना र न्यून संख्यामा रहेको शय्याका कारण उपचारमा समस्या हुँदै आएको थियो । स्थान अभावले गर्दा झ्यालमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता अब हटेको अस्पतालका मेडिकल सुपरभाइजर डा. यज्ञराज खरेलले बताए । अस्पतालले आकस्मिक कक्ष विस्तार गरेर २८ वटा शय्या थप गरेको छ ।
यसअघि कोशीको आकस्मिक कक्षमा १२ वटा शय्या मात्र राखिएको थियो । शय्या अभावमा बिरामीलाई एउटै शय्यामा दुई जना राखेर उपचार गर्ने, झ्यालमा राखेर उपचार गर्नुपर्ने जस्ता कठिनाइ थियो ।
विस्तारसँगै कोसी अस्पतालको आकस्मिक कक्षको क्षमता ४० शय्या पुगेको छ । बेडसंख्या बढेपछि उपचार थप सहज भएको मेसु खरेलले बताए । ‘शैय्या अभावको कारणले यसअघि बिरामीलाई अस्पतालको झ्याल र एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको थियो,’ मेसु खरेलले भने, ‘अब झ्यालमा राख्नु पर्ने समस्या हटेको छ ।’ अस्पतालले आइसोलेसन वार्ड हटाएको छ भने आइसोलेसनलाई आकस्मिक कक्षसँगै गाभेर विस्तार गरेको हो ।
कोशीको ओपिडीमा ८०० देखि १ हजार जना बिराम उपचारका लागि दैनिक आउने गर्दछन् । अहिले निजी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि कोशीमा बिरामी आउनेको संख्या बढेको छ । आकस्मिक कक्षमा मात्र दैनिक १०० देखि १५० जनासम्म बिरामी आउने गरेको आकस्मिक कक्षको इन्चार्ज जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादवले बताए । आकस्मिक कक्षमा शैय्या थप गरेपछि बिरामीको उपचारमा सहज भएको उनले बताए । थप भएको र पुरानो सबै बेडमा अस्पतालले अक्सिजन पाइपमार्फत आवश्यक पर्ने बिरामीलाई अक्सिजन सप्लाइ गर्ने व्यवस्था मिलाएको छ । अस्पतालले पोर्टेवल भेन्टिलेटर पनि आकस्मिक कक्षमा राख्ने तयारी गरेको छ । ‘आकस्मिक कक्षमा आउने बिरामीलाई भेन्टिलेटरमा पनि राखेर उपचार गर्नुपर्ने हुन्छ,’ इन्चार्ज यादवले भने, ‘त्यस्ता बिरामीलाई ध्यानमा राखेर अस्पतालले पोर्टेवल भेन्टिलेटर पनि राख्नुपर्ने हामीले सुझाव दिएका छौँ । त्यसको पनि तयारी भएको छ ।’
आकस्मिक कक्षमा बिरामीको स्वास्थ्य अवस्था छुटाउन जोन पनि बनाएको छ । तीन समूहमा विभाजन गरेको छ । रेड जोन, यल्लो र ग्रिन जोन बनाएर आकस्मिक कक्षको विभाजन गरिएको छ । ‘बिरामीको अवस्था हेरेर जोन छुटाएको हो,’ उनले भने, ‘यसरी जोन छुटाउँदा बिरामीको अवस्था बुझ्न चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पनि सहज हुनेछ ।’