एसईईको नतिजा यही साता आउने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यहि साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ ।

साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको कार्यालयले जनाएको छ ।
मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी छ । बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको विषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले शुक्रबारसम्म नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन् । बोर्डको पहिलो बैठकको रायसुझावको आधारमा मात्रै नतिजा सार्वजनिक गर्ने आन्तरिक समय तालिका तय गरिन्छ । नतिजा तयारीको अन्तिम काममा करिब ७० कर्मचारी खटिएका छन् ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको बोर्डले जनाएको छ । यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले एसईई परीक्षा सञ्चालन गरेको थियो ।

देशभर ५ लाख १४ हजार ७६० जना विद्यार्थीले यो वर्ष २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

मङ्गलबार, १० साउन, २०७९, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर