प्रदेशस्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने 

विराटनगर । विराटनगरमा  १ नं प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ । विराटनगरस्थित एभरेस्ट कलेजमा बास्केटबल र पौडी प्रतियोगिता हुने भएको हो ।

कलेज परिसरमा आइतबार पत्रकार सम्मेलन गरी असार १७ गते बास्केटबल र असार २४ गते पौडी प्रतियोगिता हुने जानकारी गराएको छ । बास्केटबलमा प्रदेशभरिका १२ वटा कलेजले भाग लिने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए । उनका अनुसार विराटनगरको एभरेस्ट, बिकेभिएम, डानबक्सको, सगरमाथा कलेजले भाग लिनेछन् यस्तै मोरङको सुन्दरहरैचाको ब्राइट फ्युचर , इटहरीको हिमशिखर स्कुल, धरानको होलिल्याण्ड इन्टरनेशनल,चिल्ड्रेन  एकेडेमी, नवज्योति स्कुललगायतले भाग लिनेछन् ।

बास्केटबलको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँको साथै ट्रफि र मेडल प्राप्त गर्नेछन् । बास्केटबलको आयोजना विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको हो ।

यसै गरी असार २४ गते हुने पौडी प्रतियोगितामा प्रदेशभरिका विद्यालयहरूले भाग लिनेछन् । मोरङ पौडी सङ्घको प्राविधिक संयोजन  तथा एभरेस्ट कलेजको आयोजनामा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुन लागेको प्रशिक्षक इन्द्र जीत राजभण्डारीले जानकारी दिए । पौडी प्रतियोगितामा विभिन्न तीन वटा इभेन्टमा प्रतियोगिता हुनेछ । १ सय, २ सय र तीन सय मिटरको हुनेछ । प्रत्येक तीन विद्यामा विजेतामा हुने प्रतियोगीले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पौडी प्रतियोगितामा १ सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रयोजक एभरेस्ट कलेजले गरेको छ ।

बास्केटबल र पौडीमा विजेता हुने विद्यार्थीहरूले एभरेस्ट कलेजमा पूर्ण छात्रवृत्ति पाउने कलेज प्रमुख टिकाराम पुरीले जानकारी दिए । एसइई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरिएको छ । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले बास्केटबल र पौडी प्रतियोगिता आयोजना गरिएको कलेज प्रमुख पुरीले बताए । ‘अहिले एसइई दिएर बसेका विद्यार्थी खाली रहेका छन् । यही खाली रहेको समयको सदुपयोग र खेलकुद क्षेत्रको विकास गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने । दुवै प्रतियोगिता एभरेस्ट कलेज परिसर भित्र हुनेछ । एभरेस्टमा राष्ट्रिय खेलकुद परिषद्ले तोकेको अनुसार स्विमिङ पुल र बास्केटबल रहेको छ । दुवै प्रतियोगिता समापन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने आयोजकले अपेक्षा गरेको छ ।

 

आइतबार, १२ असार, २०७९, दिउँसोको ०४:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर