श्रीमन्त भट्टराई
विराटनगरको जनआन्दोलन चौकमा कुनैबेला पञ्चायती तानाशाहीका प्रवर्तक महेन्द्र शाहको सालिक थियो । उक्त सालिक तत्कालीन राजा वीरेन्द्रले तीसका दशकमा आफैँ आएर अनावरण गरेका थिए । त्यही कारणले त्यस थलाको नाम महेन्द्र चौक भयो । आजपनि धेरै जना त्यस ठाउँलाई महेन्द्र चौक नै भन्छन् । जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रप्रति प्रेम हुनेहरू मात्र त्यस ठाउँलाई जनआन्दोलनचौक भनेर पुकार्छन् । अनावरण भएको तीन दशक नपुग्दै महेन्द्रको सालिक ध्वस्त भयो । नेपालमा लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सफल भएपछि आन्दोलनकारीले सालिक उखेले र धूलोपिठो बनाए ।
पचासका दशकमा काङ्ग्रेस शासनका बेला लोकमानसिंह कार्की पावरमा थिए । उनी त्यही बेला भन्सारका महानिर्देशक भए । उनका पिता भूपालमानसिंह कार्कीलाई धरान–विराटनगर सडकमा आफ्नो सालिक ठड्याउन मन लाग्यो । उनले आफ्नै नेतृत्वमा बसाएको सहर दुहबी रोजे । दुहबी बजारको दक्षिण भागमा माझ सडकमा उनले आफ्नो सालिक बनाए । आफैँ लागेर बनाए । सालिक बनाउँदा उनी आफैँ गएर दिनभरि बस्थे र निर्माणको काम हेर्थे । तर लोकतान्त्रिक गणतन्त्रको प्राप्तिसँगै भूपालमानको सालिकपनि रहेन । आन्दोलनकारीले त्यो सालिक उखेलेर इतिहासका बाढीमा बगाइदिए ।
यता मोरङको दक्षिणपूर्वी क्षेत्रमा पर्ने नयाँबजार कुनैबेला काङ्ग्रेस–बहुल क्षेत्र थियो । नेपाली काङ्ग्रेस मोरङले त्यहाँ बीपीको सालिक राख्ने निर्णय ग¥यो र राख्यो पनि । काङ्ग्रेस नेता रामचन्द्र पौडेलले नयाँबजारमा ५० का दशकमा बीपीको सालिकको अनावरण गरेका थिए । तर त्यो सालिकले डेढ दशक पार गर्न पाएन । मधेस आन्दोलनका बेला त्यसलाई आन्दोलनकारीले छिन्नभिन्न बनाए ।
यसरी ३ वटा सालिकका पृष्ठभूमि र घटनाले के देखाउँछन् भने सडकमा अर्थात् सडक मिचेर स्थापना गरिएका सालिक कसैका पनि सुरक्षित भएनन्, छैनन् र हुने छैनन् । वास्तवमा सडक सालिकका लागि होइन, हिँड्नेका लागि हो । त्यसैले त्यहाँ जो कोही नागरिक निर्वाध हिँड्न पाउनुपर्छ र सजिलो तरिकाले हिँड्न सबैलाई सुविधायुक्त बनाइनुपर्छ ।
यी त भए सालिक भत्काइएका उदाहरण । तर नभत्काइएको एउटा बलियो उदाहरण पनि छ । मोरङको बुढीगङ्गामा २००७ सालका क्रान्तिका सेनानी रामप्रसाद राईको सालिक छ । उक्त सालिक रामप्रसाद राई प्रतिष्ठानको आफ्नै जग्गामा छ । माझ सडक वा सडकका छेउमा वा सडक मिचेर बनाइएको सालिक यो होइन । त्यसैले न मधेस आन्दोलन, न लोकतान्त्रिक गणतन्त्रको आन्दोलन दुबै आन्दोलनले यस सालिकलाई छोएन । रामप्रसादको सालिक आजसम्म सुरक्षित छ । कसैले भत्काएन । छुन पनि सकेन ।
विराटनगरको व्यस्त सडक बरगाछी चौकमा यही जेठ २८ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पिताजी कृष्णप्रसाद कोइरालाको सालिक अनावरण गरेको घटना यति बेला देशभरि विवादित र चर्चित छ । यो घटना किन विवादग्रस्त भयो भने राख्नुपर्ने ठाउँमा सालिक राखिएन । विराटनगरको यो अतिव्यस्त ठाउँ हो । यसलाई ट्राफिक व्यवस्थापनको थलो बनाइनुपथ्र्यो । दोस्रो, यो वरगाछी चौक हो । यहाँ स्थायी ढङ्गले केहीपनि निर्माण गरिँदा वरगाछी चौकको आभास र अनुभव हुनुपथ्र्यो । तर एक महामनीषी र विराटनगरका विभूति स्वरूप भइसकेका कृष्णप्रसादको सालिकले समग्र सहरकै ट्राफिक व्यवस्थापनलाई असर पु¥याइरहेको हुन्छ भने त्यो दुःखको कुरा हो । र, भइरहेको पनि यही छ ।
साँच्चै भन्ने हो भने, पिताजी कृष्णप्रसाद कोइराला कुनै पार्टीका मात्र पेवा होइनन् । उनी वामपन्थी नेता कमल कोइरालाका हजुर बा हुन् । मधेस आन्दोलनमा लागेका स्वर्गीय ज्योति कोइरालाका पनि हजुरबा नै हुन् । काङ्ग्रेसका शशाङ्क, शेखर र सुजाताका मात्र हजुरबा होइनन् । त्यस्तै काङ्ग्रेस नेता बीपी र गिरिजाका मात्र उनी बाबु होइनन्, महापञ्च मातृकाप्रसादका पनि हुन् । कृष्णप्रसाद कोइरालाको मृत्यु राणाले जेल हालेका बेला २००१ सालमा काठमाडौंमा भयो । त्यति बेला नेपाली काङ्ग्रेस पार्टीको जन्मपनि भएको थिएन । त्यसैले कृष्णप्रसाद कुनै खास पार्टीका मात्र होइन, समग्र नेपाली जनताका प्रतिनिधि हुन् ।
विराटनगर सहर उनले बसाए । रङ्गेलीबाट सदरमुकाम उनैले यहाँ सारे । जोगबनीसम्म रेल र हुलाक उनैले ल्याए । विराटनगर जुट मिल्सको स्थापनामा योगदान गरे । उनी देशमा उद्योग व्यवसाय बढ्नु पर्छ भन्थे । आदर्श स्कुलको स्थापना गरे । नारी जागृति केन्द्र चलाए । पछि यही केन्द्र आदर्श बालिका स्कुल भयो । विराटनगरमा व्यापारको गोला चलाए । यहाँ व्यापार गर्न आएका मारवाडी व्यापारीलाई संरक्षण दिए ।
त्यसैले कृष्णप्रसादको सालिक स्थापना गर्नेहरूले व्यस्त सडक र चौकको बिचभाग कब्जा गरेर होइन, कृष्णप्रसादका नाममा संस्था खडा गरेर अनि त्यही संस्थाका नाममा ५ धुर भएपनि जमिन खरिद गरेर सालिक राख्नुपथ्र्यो । त्यहाँ राम्रो पार्क बनाउन सकिन्थ्यो । साँझ–बिहान टहल्ने ठाउँ हुनसक्थ्यो । अनि संस्थाका नाममा भएको जमिनमा राखिएको सालिक भत्काउन पनि कोही आउँदैनथे, उदाहरण रामप्रसाद राईको सालिक छँदैछ ।
बिच सडकमा सालिक / प्रतिमा / फोहरा / चौतारो र मन्दिर
***************************************************
संसारका बिकसित मुलुकहरूमा पनि नेपाल जस्तै योगदान गरेका महापुरुष हुन्छन् तर त्यहाँ सडकको बिचमा सालिक , फोहरा ( मोरंग सिडियो कार्यालय अगाडि ) , चौतारो ( बुरानगर – ५ चाँदनीचौक दक्षिण ) वा मन्दिर ( सिरहाको अधिकांश ठाउँको बिच सडकमा ) बनाइदैन । बनाउनु पनि हुँदैन । यसले दृष्टिभ्रम गराउँछ । परिणाम दुर्घटना ।
देशको लागि योगदान गर्नु हुने सबै हाम्रा लागि पुज्यनीय हुन् । अत: ती महामानवको सालिक वा प्रतिमा सडक छेउमा , पार्कमा , लाइब्रेरीमा , स्कुल , कलेज वा अस्पतालमा राख्न सकिन्छ ।
बिच सडकमा नराखी अन्यत्र राख्नाले अवमूल्यन हुन्छ भन्ने सोच राख्नेहरुलाई प्रश्न यदि समयको हुलले कुनै ठाउँको सालिक भत्काइयो भने मान मर्दन हुन्छ कि हुँदैन ?
अमेरिकाको १० वर्षे बसाइमा त्यहाँको ३०-३५ राज्य घुम्दा सडकको बिचमा सालिक / प्रतिमा , फोहरा , पार्क वा चर्च र ट्राफिक प्रहरी देखिन । प्रहरीको ठाउँमा ट्राफिक लाइटले सवारीलाई नियन्त्रण र निर्देशन गर्दछ । दिल्लीको सडकमा पनि ट्राफिक प्रहरी देखिएन ।
जुनदेशमा अरबौं खर्च गरि बनाएको पेटी छेकेर प्रहरीको बिट , हातधुने ट्यांकी जडान ( मोरंग जिल्ला अदालतको पुर्व पेटीमा र कोशी अस्पताल OPD भवनको प्रवेश मार्गमा ) , निर्धक्कसंग ईटा गिटी बालुवा छड राखेर शहरको सौन्दर्य बिगारेको देखेर पनि प्रहरी , प्रशासन , स्थानीय निकाय तथा स्वयम् दुरुपयोग गर्ने ब्यक्तिलाई उक्त उपरोक्त कार्य गलत हो भन्ने आभाष हुँदैन भने अमेरिका र बिलाइतको उपमा दिनु निरर्थक । किनकि हामीलाई अमेरिका पनि होइन , लन्ढन पनि होइन ; हामीलाई जानुपर्नेछ Switzerland
सरोकारवालाहरु हो ! हुलको निर्णय त्यागौं ।