छैटौं संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा

एउटै जहाजमा आउने तेस्रो संक्रमित

काठमाडौं । चैत ४ गते कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको विमानमा आएकी बागलुङकै ६५ वर्षीया वृद्धा नेपालको छैटौं कोरोना संक्रमित भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार छैटौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बाग्लुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षकी वृद्धामा कोरोना संक्रमण भेटिएको बताउनुभयो । ती वृद्धा नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै नेपाल आएको खुलेको छ ।

अहिलेसम्म घरमै बसेकी बृद्धालाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् । उनी सवार जहाजमा आउने बाग्लुङकै अर्की युवतीमा पनि संक्रमण पुष्टि भएपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

बेल्जियमबाट कतारको दोवा हुँदै कतार एअरवेजको विमानबाट आउने यसअघि पाँचौ संक्रमित युवती पनि बाग्लुङ नगरपालिका ३ कै बासिन्दा हुन्। दुवैजना एकैसाथ बेल्जियमबाट आएको पाइएको छ ।

उनीहरू काठमाडौं ओर्लिएपछि यति एअरलाइन्सको विमान चढेर पोखरा विमानस्थल ओर्लिएका थिए। संक्रमणको पुष्टि भएकी १९ वर्षीया युवतीको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवतीमा चैत १० गते कोरोना देखिएपछि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको थियो । त्यसपछि बेल्जियबाट दोहा हुँदै सोही विमानमा काठमाडौं आएकी बागलुङकै २२ वर्षीया युवतीमा चैत १६ गते कोरोना पोजेटिभ रहेको पुष्टि भएको थियो । अहिले सोही विमानमा यात्रा गरेकी महिलामा पनि कोरोना देखिएको हो ।

उक्त विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये अहिलेसम्म १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ ।

बिहिबार, २० चैत, २०७६, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर