आजमात्रै ७ सय ६७ जना थप
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको आशंका गरिएकाहरुको संख्या ३ हजार २ सय १४ पुगेको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार बिहीबार थप भएका ७ सय ६७ जनासहित ३ हजार २ सय १४ मा सपुगेको हो ।
जसमध्ये सामान्य रुघाखोकी लागेकाको संख्या १ हजार १ सय ४१ रहेको छ । यस्तै रुघाखोकी तथा ज्वरो आएका ७ सय ६३ जना, संक्रमित ठाउँको यात्रा गरेर आएका र रुघाखोकी तथा ज्वरो आएका १५ जना, रुघाखोकी तथा ज्वरो आएर क्लिनिकमा आएका ३ सय ७५ जना रहेका छन् । उनीहरुमध्ये अधिकांश क्वारेन्टाइनमा छन् ।
प्रदेशभरका होम क्वारेन्टाइनमा ४ सय ६३ जना महिला तथा १ हजार ९ सय ७५ जना पुरुष रहेका छन् । आइसोलेसनमा भएका शंकास्पद महिला बिरामीको संख्या ५ र पुरुषको संख्या ६ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै अस्पतालमा आएका नयाँ शंकास्पद बिरामीको संख्या १ सय ८६ जना रहेका छ भने उपचारमा रहेका शंकास्पद बिरामीको संख्या १५ जना रहेको छ ।
हालसम्म प्रदेशका ५९ जना बिरामीहरुको नमूना संकलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म ३ हजार २ सय ७७ वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेको छ भने ४३ वटा अस्पतालमा आइसियु बेड ४० वटासहित ४०१ आइसोलेसन बेड तयार रहेको छ ।