नेपालमा छैटौं कोरोना संक्रमित

विराटनगर । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

कतारबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको डा.देवकोटाले जानकारी दिनुभएको छ । टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।

चैत ४ गते फ्लाइट नं क्युआर ६५२ बाट दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा कोरोना देखिएको हो । ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन । यसअघि सोही विमानबाट आएका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवतीमा चैत १० गते र बेल्जियबाट दोहा हुँदै सोही विमानमा काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा चैत १६ गते कोरोना पोजेटिभ पाइएको थियो। यस्तै दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो । त्यसपछि दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो ।

१ सय ५८ जना यात्रु नेपाल ओर्लिएको सो विमानमा रहेकामध्ये दुई दर्जनको स्वाब परिक्षणमा नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ६ जनामा कोरोनाको संक्रमण देखिएको एक जना उपचारपछि घर फर्किएका छन् । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा माघ १५ गते कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

अन्य संक्रमितहरु भने उपचारको क्रममा रहेका छन् । टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा एक जना उपचारको क्रममा रहेका छन् ।

बिहिबार, २० चैत, २०७६, दिउँसोको ०४:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर