विराटनगर । प्रदेश नं.१ बाट बुधबारसम्म कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५४ जनाको नमूना संकलन भएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
नमुना संकलन गरिएकोमध्ये १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।
अहिलेसम्म झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । बुधबार मात्र मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ गरी ८ जनाको नमूना संकलन गरिएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण शुरु भएपछि रिपोर्ट छिटो आउन थालेको मन्त्रालयले जनाएको छ । बुधबार मात्र १२ जनाको रिपोर्ट आएको छ ।
डा. मेहताका अनुसार प्रदेशभरिमा बुधबारसम्म कोरोना भाईरसका शंकास्पद १ सय १९ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५/५ जना रहेका छन् । आईसोलेसनमा ३ पुरुषसहित ९ जना विरामी भर्ना रहेका छन् ।
ओखलढुङ्गा, उदयपुर र पाँचथर २/२ जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १÷१ जना पुरुष आईसोलेसनमा भर्ना भएका हुन ।
प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आईसोलेसन वेड तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् भने ती क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना विरामीको जाँच गरिएको छ ।