कोरोना आशंका गरिएका दुईको बीर अस्पतालमा मृत्यु, कोरोना परीक्षण हुँदै

भारतबाट हालै आएका दुबैजनामा उच्च ज्वरो र स्वास्प्रश्वासको समस्या थियो

काठमाडौं । उच्च ज्वरो आएपछि उपचारका लागि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको छ ।

आइतबार भर्ना भएका एक जना र सोमबार बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनीहरुलाई उच्च ज्वरो आउनुका साथै श्वास फेर्न कठिन हुने लक्षण रहेको अस्पतालले जनाएको छ ।

मृत्यु भएका दुबै जनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। मृत्यु भएकी चन्द्रागिरी नगरपालिका १५ निवासी एक महिलालाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले लक्षणका आधारमा ३४ वर्षीया उनमा कोरोना आशंका गरेका थिए।

यही साता भारतबाट नेपाल आएकी उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो। अत्यधिक ज्वरो आएको भन्दै ल्याइएकी युवतीलाई बिहानपख निमोनियाको लक्षण देखिएको थियो ।

यस्तै सोमबार बिहान भर्ना गरिएका अर्का एकजना ५० वर्षीय पुरुषको पनि ज्यान गएको छ। लगभग बेहोस अवस्थामा ल्याइएका उनी भर्खरै भारतबाट आएको खुलेको छ। उनमा पनि ज्वरो अत्यधिक आएको थियो ।

दुबै बिरामीमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि थ्रोट स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको अस्पतालले जनाएको छ। उनीहरुको स्वास्थ्य रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल २ र पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको नमूना परीक्षणको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मृत्यु भएका तीनैजनाको नमूना संकलन गरिसकिएको र रिपोर्ट आइनसकेको बताउनुभयो ।

बुटवलमा निधन भएका युवामा कोरोना पाइएन
यसैबीच बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु स्रोतका अनुसार ती व्यक्तिको मृत्यु कोरोना संक्रमणले नभएको प्रारम्भिक प्रयोगशाला परीक्षणमा देखिएको छ ।

प्रदेश ५ सरकार र बुटवल उपमहानगरपालिकाको सहकार्यमा तयार गरिएको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा रहेका पाल्या घर भएका युवाको आइतवार मृत्यु भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप स्पष्ट हुन ती व्यक्तिको घाँटीको र्‍यालको नमुना दोस्रो पटक परीक्षण गर्ने जनाएको छ ।

ज्वरो, खोकीको लक्षण देखिएपछि आफैं अस्पताल भर्ना भएका ती व्यक्तिको र्‍यालको नमुना गत आइतबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको थियो ।

सोमबार, १७ चैत, २०७६, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर