टी–२० त्रिकोणात्मक सिरिज

करण केसीको ह्याट्रिक मद्दतमा नेपाल फाइनलमा

विराटनगर । तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी पिएनजी र मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा प्रवेश गरेको छ।

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो।

यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो।

अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ। फाइनल आगामी सोमबार हुनेछ।

फाइनलमा नेपालले पिएनजी र मलेसियामध्ये एक टिमसँग भिड्नेछ। पिएनजी र मलेसियाबीच भोलि शुक्रबार प्रतिस्पर्धा हुँदैछ।

भोलि पिएनजीले मलेसियालाई हराएर पर्सी नेपालले मलेसियालाई हराए पिएनजी फाइनलमा पुग्नेछ। मलेसियालाई फाइनल पुग्न भोलि पिएनजी वा पर्सी नेपालविरूद्ध मध्ये एक खेल जिते पुग्छ।

बिहीबार त्रिवि मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजी २ बल खेल्न बाँकी छदा १६६ रनमा अलआउट भयो।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा तीन विकेट लिँदै ह्याट्रिक गरेका थिए। उनले चाड सोपरलाई २ रन, अताइ र पोकनालाई शून्यमा आउट गरे। उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे।

पिएनजीका लागि चार्ल्स अमिनीले ६२ रन जोडे। उनले ४७ बलमा ९ चौका प्रहार गरे। टोनी उरा ४३ रनमा आउट भए।

त्यसअघि ओपनरद्वय असद भाला र लेगा सिएका १(१ रनमा आउट भए। दुवैलाई नेपालका करण केसीले आउट गरेका थिए।
केसीले सिएकालाई आउट गर्दै टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए।

सेसे बाउ २५ रन र नोर्मान भानुआ १७ रनमा आउट भए। दुवैलाई अबिनास बोहराले १८ ओभरको दोस्रो र तेस्रो बलमा आउट गरे।

बलिङमा नेपालका करणले ह्याट्रिकसहित पाँच विकेट लिए। उनले ३.४ ओभरमा २१ रन दिए।
सोमपाल कामी र अबिनास बोहरा २–२ विकेट लिन सफल भए। सोमपालले दुवैले ४.४ ओभरमा ३४–३४ रन दिए।

त्यसअघि टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रको यो चौथो टी–२० अर्धशतक हो। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे।

यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।
नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे। कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए।
रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।
बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप नाथलाई शून्यमा आउट गरे।

खेलमा नेपालका मध्यक्रमका ब्याट्सम्यानद्वय दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे।

दीपेन्द्रले खेलमा अर्धशतक पूरा गरे भने आदिल डेब्यू खेलमै उत्कृष्ट ब्याटिङको नमुना देखाए।

दुईबीच पाँचौ विकेटका लागि ५ ओभरमा ६६ रनको साझेदारी गरेका थिए। जसमा दुई मिलेर १९औं ओभरमा ३२ रन प्रहार गरेका थिए।

यो ओभरमा पिएनजीका नोसैना पोकनाले बलिङ गरेका थिए। जसमा आदिलले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हिर्काए।

त्यसपछि नो बल हुँदा आदिलले छक्का प्रहार गर्दै ७ जोड्न सफल भए। तेस्रो बलमा आदिलले फेरि छक्का हिर्काए। चौथो बलमा उनले तीन रन लिए। पाँचौ बलमा दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गरेका थिए भने छैटौं बलमा ऐरी आउट हुन पुगेका थिए।

त्यसअघि १८ ओभरमा नेपालले २४ रन जोडेको थियो। दीपेन्द्रले सो ओभरमा पिएनजीका नोर्मान भानुआलाई पहिलो तीन बलमा लगातार छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका थिए। त्यसपछि चौथो बलमा उनले एक रन लिए। पाँचौ बलमा आदिलले पनि एक रन लिँदा छैटौं बलमा दीपेन्द्रले चौका हिर्काए।

बारा सिम्रौनगढका अन्सारी गत मंसिरमा चर्चामा आएका खेलाडी हुन्। दायाँ हाते ब्याट्सम्यान अन्सारी आक्रामक ब्याटिङका कारण चर्चामा आएका थिए। उनी मध्यम गतिमा बलिङ समेत गर्छन्।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै अन्सारी नेपालको यू १९ राष्ट्रिय टिममा परे। युएईमा भएको यू(१९ एसिया कपमा तीन खेलमा ५७ रन जोड्दा ३ विकेट लिएका थिए। उनले प्रतियोगिता कुवेतविरूद्ध ४९ रन जोडेका थिए।

यू(१९ राष्ट्रिय टिममा परेसँगै उनी मधेशको सिनियर टिममा पनि पर्न सफल भए। मधेशको सिनियर टिमबाट प्रधानमन्त्री कप खेल्दा उनले एपिएफविरूद्ध ३५ रन जोडेका थिए।

 

बिहिबार, १७ चैत, २०७८, दिउँसोको ०४:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर