प्रदेश १ : खेलकुद विकास बोर्डका सदस्यसचिव बस्नेतले दिए स्पष्टीकरण

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले सामाजिक विकास मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् ।

सामाजिक विकासमन्त्री राजन राई आएलगत्तै बस्नेतलाई स्पष्टीकरण माग गरिएको थियो । स्पष्टीकरणमा योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति गरेको, छवि स्वच्छ नभएको र काम पनि चित्तबुझ्दो नभएको उल्लेख थियो । ‘हामीले सोधेको स्पष्टीकरणको जवाफ सदस्य सचिवबाट आएको छ, चित्तबुझ्दो छैन,’ सामाजिक विकासमन्त्री राजन राईले भने । स्रोतका अनुसार बस्नेतले दिए पनि बोर्डका उपाध्यक्ष बाबा मेन्याङ्बोले स्पष्टीकरण दिएका छैनन् । प्रदेशमा सदस्य सचिव बन्नका लागि कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने उल्लेख छ । प्रदेश खेलकुद ऐन २०७६ अनुसार सदस्य सचिवको कार्यकाल चार वर्षको हुन्छ ।

मुख्यमन्त्री भीम आचार्यको सरकारका पालामा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले बस्नेतलाई गत असोज २४ गते सदस्य सचिवमा नियुक्त गरेका थिए । आचार्य नेतृत्वको सरकार हटाएर बनेको राजेन्द्र राई नेतृत्वका सरकारका मन्त्री राईले स्पष्टीकरण पत्र दिएका थिए ।

यसैबीच बस्नेतले आफूले स्पष्टीकरण दिएको बताए । ‘सरकारले सोधेको चित्त बुझ्दो जवाफ दिएको छु,’ उनले भने, ‘योग्यता नपुगेको विषय होस् वा काम चित्त बुझ्दो नभएको विषयमा विवरण नै दिएको छु ।’

बस्नेतले वर्तमान सरकारले आफूलाई बजेटमा उल्लेखित कार्यक्रम गर्न रोक लगाएको, सामान्य खर्चमा समेत नाकाबन्दी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सोमबार, १६ फागुन, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर