विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि पुरै नेपाललाई लकडाउन गरिएको छ । लकडाउनका कारण सबै नागरिक घरभित्रै सिमित भएका छन् । सहर बजारमा मानिसहरुको चहलपहल छैन, भएपनि ज्यादै न्यून छ । यसले मानिसको दैनिकीमा धेरै असहजता उत्पन्न गरेको छ । असहजताका बीच पनि सुरक्षा दृष्टिले भने यो लकडाउनको अवधि सकारात्मक देखिएको छ ।
लकडाउनका कारण समाजमा हुँदै आएको अपराधमा एकाएक कमी आएको पाइएको छ । लकडाउन हुनु भन्दा अगाडि र लकडाउन पछि भएका अपराधलाई तुलना गर्दा मोरङमा ९० प्रतिशत अपराध घटेको पाइएको छ ।
आत्महत्या गर्ने क्रम घट्यो
लकडाउनको समयमा मोरङमा आत्महत्याको अपराध गर्ने प्रवृत्तिमा उल्लेख्य सुधार आएको छ । पछिल्लो छ दिनमा मोरङमा एउटा मात्र आत्महत्याको अपराध भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लकडाउन सुरु हुनुभन्दा अगाडि दैनिक सरदर दुई जनाले आत्महत्या गर्ने गरेकोमा पछिल्लो छ दिनमा एक जनाले मात्र आत्महत्या गरेको देखिएको छ ।
आत्महत्या गर्ने व्यक्तिहरु एकोहोरिने, एक्लो महसुस गर्ने र घरमा अरु नभएको बेलामा विभिन्न तरिकाले आत्महत्या गर्ने गर्थे । लकडाउले गर्दा अहिले सबै परिवार घरमै बसेका छन् । घरमा एक्लो महसुस पनि नभएको हुनसक्छ । लकडाउनले आत्महत्याका लागि प्रतिकुल वातावरण बनाएकोले पनि यस अपराधमा कमी आएको हुनसक्ने मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चैत्र १ गतेदेखि ९ गतेसम्म मोरङमा २१ जनाले आत्महत्या गरेका थिए । यो यस अघिका अरु महिनाको जस्तै औषत संख्या हो । कलडाउनपछि भने यो संख्यामा धेरैनै फेरबदल आएको छ । चैत्र ११ गतेदेखि १६ गतेसम्म एक जनाले मात्र आत्महत्या गरेका छन् । डिएसपी राईले भन्नुभयो ‘आत्महत्या गर्ने अपराध यो अवधिमा धेरै घटेको पाइएको छ, दिनमा चार जनासम्मले आत्महत्या गर्ने गरेको मोरङमा अहिले एक हप्तामा एक जनाले मात्र त्यस्तो अपराध गरेका छन् ।’
अपराध घट्यो
सुरक्षा निकाय यतिबेला लकडाउनलाई प्रभावकारी बनाउन परिचालित छ । यस अवधिमा समाजमा हुने अन्य अपराधका घटनाले प्रहरीलाई बिथोल्न पाएको छैन । जसले गर्दा शान्ति सुरक्षा कायम गर्न सहज पनि भएको छ ।
चैत्र १ देखि लकडाउन घोषणापूर्व मोरङमा चोरीका चार वटा घटना भएको थियो । अभदै व्यवहार गर्ने ८ वटा घट्नामा मुद्दा दर्ता भएको थियो । हत्याका तीन अपराध भएका थिए । कुटपिटका दुई र सवारी ज्यान सम्वन्धी तीन वटा घटना भएको थियो । लकडाउनको अवधिमा भने जिल्लाभर चोरीको घटना भएको छैन । मानिसहरु घरघरमै बसेकोले अभद्र व्यवहार र कुटपिट अंगभंगका घटना पनि भएको छैन । सवारी दुर्घटना र त्यसबाट ज्यान जाने अपराध पनि भएको छैन । हत्या सम्वन्धी घटना पनि नभएको डिएसपी राईले जानकारी दिनुभयो ।
मोरङमा अधिक संख्यामा हुने अपराध भनेको अवैध लागुऔषध ओसारपसारको अपराध हो । लकडाउन अगाडि चैत्र महिनामा लागू औषधको ९ मुद्दा दर्ता भएकोमा लकडाउन पछि एउटा मात्र मुद्दा दर्ता भएको छ । मानिसहरुको आवतजातव रोकिएपछि लागूऔषधको ओसारपसार र सेवनको घटनामा पनि कमी आएको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणीको घटनामा पनि कमी
लकडाउनको अवधिमा जबरजस्ती करणी र करणी उद्योग गर्ने अपराधमा पनि कमी आएको पाइएको छ । लकडाउन अगाडि मोरङमा जबरजस्ती करणीका तीन र जबरजस्ती करणी उद्योगका तीन गरेर छ वटा अपराधका घटना भएकोमा लकडाउनको अवधिमा जम्मा दुई वटा मात्र अपराधका घटना भएका छन् । लकडाउनको अवधिमा जबरजस्ती करणी सम्वन्धी दुई वटा मुद्दा दर्ता भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो अवधिमा जबरजस्ती करणी उद्योगमा कुनै उजुरी परेको छैन ।