विराटनगरको वीरेन्द्र सभागृह पुनःनिर्माण (फोटो फिचर)

२० करोड रुपैयाँ लागतमा सभागृह पुनःनिर्माण सम्पन्न हुने

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनःनिर्माण कार्यले गति लिएको छ । सभागृहको पुरानोलाई रेट्रोफिट विधिबाट रिनोभेसन गर्ने कार्य सँगसँगै परिसरभित्र नयाँ भवनहरुको निर्माण कार्यपनि जारी छ ।

पुरानो र जीर्ण अवस्थामा रहेको वीरेन्द्र सभागृहको वर्तमान दृष्यमा कुनै परिवर्तन नहुने गरी महानगरपालिकाले त्यसको पुनःनिर्माण गर्न र सभागृहलाई आधुनिक र व्यवस्थित गर्न आवश्यक पर्ने थप संरचनाहरु निर्माण गरिरहेको छ ।

विराटनगर महानगरपालिकाले नगर विकास कोषको लगाानी साझेदारीमा सभागृह पुनः निर्माणको काम अघि बढाएको हो । कोषले १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ भने प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । कुल २० करोड रुपैयाँ लागतमा सम्पन्न हुने सभागृह पुनःनिर्माणको ठेक्का समानान्तर जोशी र श्री ब्याङ्क्वेट जे.भी.लाई दिएको छ ।

भूकम्प प्रतिरोधी समाज एन सेट नेपालको सुपरभिजनमा निर्माणाधीन योजनाको डिजाइन अरनिको डिजाइनर प्रा.ली. काठमाडौंले गरेको हो । आगामी मंसिर महिनासम्म सम्पन्न गरिसक्नु पर्ने सभागृहको कामलाई केही समययता ठेकेदार कम्पनीले पनि तीब्रता दिएको छ ।

ठेकेदार कम्पनीले सभागृहको पूर्वतर्फ दुई तले भवन निर्माण गरेको छ । भुइँतलामा शौचालय र माथिल्लो तलामा प्रशासनिक शाखाहरु राख्ने उद्देश्यसहित भवन निर्माणाधीन रहेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । भवनको दोस्रो तला ढलान भइसकेको र अब फिनिसिङ चरणमा जाने बताइएको छ ।

यसैगरी पूर्वतर्फ निर्माणाधीन अर्को एकतले भवन फिनिसिङ चरणमा छ । त्यसमा विशिष्ट पाहुना कक्ष र मिटिङ हल निर्माण गरिने छ । त्यहाँ प्रधानमन्त्री वा मन्त्री लगायत अन्य विशिष्ठ पाहुनाहरु आउँदा बस्ने र बैठक गर्न मिल्ने गरी छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । उत्तरतर्फ पनि नयाँ भवन बनाइएको छ । त्यस भवनमा स्टेज कार्यक्रम गर्नेहरुका लागि चेन्जिङ रुमको प्रवन्ध गरिने छ । ठेक्कामा बाहिर कम्पाउण्ड र आँगनलाई व्यवस्थित रुपमा निर्माण गरी सभागृह परिसरलाई आकर्षक बनाउने कामसमेत समेटिएको बताइएको छ ।

पुनः निर्माणका क्रममा पुरानो सभागृहको भवन भित्र र बाहिरका पर्खालका प्लस्टर उप्काएर जमिनदेखिनै रडको जाली बाँधी पाँच इन्च मोटाइमा आरसिसी ढलान गरिदैछ । त्यसले पुरानो पर्खालको सुरक्षाका साथै भवनलाई मजबुत बनाउने छ ।

रेट्रोफिट गरी भवन रिनोभेसन भइसकेपछि भित्र र बाहिर सौन्दर्यकरणको काम अघि बढाइने बताइएको छ । भवनको अघिल्लो भागमा रहेको भ¥याङ हटाउने र त्यस ठाउँमा ‘वाटर फाउन्टेन’ निर्माण गरिने इन्जिनियर थापाले जानकारी दिए । उनका अनुसार भवनको बाहिरी भागमा दुई ठूला स्क्रिनहरु राखिने छन् र सभाहलभित्र नअटाएर बाहिर बसेका मानिसले तिनै स्क्रिनहरुबाट कार्यक्रम दृश्यावलोकन गर्न सक्ने छन् ।

सभागृहको भित्री दृष्यमा भने आमुल परिवर्तन हुने छ । भवन सेन्ट्रल वातानुकुलित(एसी), पूर्ण लाइटिङ सिस्टम भएको हुने छ । यस्तै मिडिया सिस्टलमलाई व्यवस्थित गर्न मिडिया सेन्टरको अवधारणासहितको डिजाइन गरिएको इञ्जिनियर थापाले जानकारी दिए । सभाहलमा प्रिमियम शो सञ्चालन गर्न सक्ने गरी ध्वनी शोषक संयन्त्र जडान गरिने छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निर्वाचनकै बेला प्रतिवद्धता गरेको सभागृह पुनःनिर्माणको काम कार्यकालको अन्तिम समयमा भएपनि आरम्भ भएको छ । महानगरपालिकाका अरु धेरै विकास योजनाहरु विगत दुई वर्षदेखि अगाडि बढ्न नसकेको र बाटोघाटोका योजना समेटिएको नगरस्तरीय योजनाहरुको ५० प्रतिशत रकम चालु आर्थिक वर्षमा कटौती गरेको महानगरले सभागृहको कामलाई भने निरन्तरता दिएको छ । महानगर प्रमुखको प्रतिवद्धतामध्येको प्रमुख योजना भएकोले पनि बजेट अभावको असर सकेसम्म सभागृहमा पर्न नदिएको महानगरका एक कर्मचारीले बताए ।

बिहिबार, १२ फागुन, २०७८, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर