एउटै विमानमा आएका दुईजनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पाँचौ संक्रमित बागलुङकी युवती

कतार एयरवेजको क्यूआर ६५२ विमानबाटै नेपाल आएकी थिइन्/काठमाडौंबाट माइक्रो चढेर गएकी उनी अझै घरमै

एउटै विमानमा आएका दुईजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको संक्रमितको संख्या पाँच पुगेको छ ।

युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण भएको शनिबार पुष्टि भएको हो ।

चैत ४ गते नै कतार एयरवेजको क्यूआर ६५२ विमानबाट नेपाल आएकी बाग्लुङकी युवतीमा संक्रमण देखिएको हो । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको चैत १० मा पुष्टि भएको थियो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

युवतीमा कोरोना देखिएपछि सो विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिका घर भएकी युवतीको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएकोमा पोजेटिभ देखिएको हो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको भएपनि उनी घरमै रहेको बताइएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित उनी चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।

ती १९ वर्षीय युवती एक दिन काठमाडौं बसेर अर्को दिन माइक्रो चढेर घर पुगेकी थिइन्। घर गएको २/३ दिनपछि उनलाई ज्वरो आएको थियो।

उनी आएको जहाजमा आएकी अर्की युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भएको थियो । उनको नाम देखेपछि नगरपालिकाको पहलमा घरमै गएर स्वाब संकलन गरि परीक्षणका लागि काठमाडौं पठाउँदा नतिजा पोजेटिभ आएको हो ।

अहिलेसम्म टेकु अस्पतालमा ८ सय ७५ टेस्ट भएका छन्। जसमध्ये पाँच जनामा कोभिड-१९ को संक्रमण फेला परेको छ। यससँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या औपचारिक रुपमा ५ पुगेको छ । उनीहरूमध्ये चीनबाट आएका विद्यार्थी निको भएर घर गइसकेका छन् भने प्रान्सबाट आएकी युवती तथा दुबईबाट आएका ३२ वर्षीय धादिङका एक व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । दुबईबाटै आएका कैलालीको धनगढीका एक जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

शनिबार, १५ चैत, २०७६, दिउँसोको ०४:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर