हाम्रोमत समाचार प्रभाव : बसपार्कमा अलपत्र परेका १० जनाको उद्वार

प्रहरीको सहयोगमा उनीहरुलाई मिक्लाजुङ-४ स्थित टाँडीमा निर्माण भएको क्वारेन्टाइनस्थल पठाइयो

विराटनगर । विराटनगर बसपार्कमा अलपत्र परेका १० जना युवकहरुको उद्वार गरिएको छ ।

हाम्रोमत दैनिकको अनलाईन संस्करण हाम्रोमत डटकमले मङ्गलबार दिउँसो “भारतबाट नेपाल फर्किएका युवा अलपत्र” भन्ने शीर्षकमा समाचार प्रकाशन गरे लगत्तै उनीहरुको उद्वार गरिएको हो । कैलाली–१ टीकापुर बस्ने रामबहादुर बिक, खडकबहादुर नेपाली र गोरख बहादुर बिक लगायतका १० जनाको उद्वार गरिएको हो । मोरङ्ग प्रहरीको सहयोगमा उनीहरुलाई उद्वार गरि मोरङ्गको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ स्थित टाँडीमा निर्माण भएको क्वारेन्टाइन स्थलमा पठाईएको छ । नाईट सेक्युरिटी गार्डको सिलशिलामा भारतको बिहारस्थित पुर्णिया पुगेर फर्किएका उनीहरु सोमबार दिउँसो ४ बजे देखि नै विराटनगर बसपार्कमा अलपत्र परेका थिए । सरकारले मङ्गलबारदेखि लकडाउनको घोषणा गरेपछि उनीहरु घर फर्किन पाएका थिएनन् ।

सरकारले फैलिँदै गएको कोरोना भाईरसको सङक्रमणलाई मध्यनजर गर्दै मङ्गलबारदेखि चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेसँगै विराटनगर महानगरपालिकाले पनि अनिश्चितकालीन लकडाउनको घोषणा गरेको थियो । सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा क्षेत्रहरु मात्रै सञ्चालनमा रहने निर्णय समेत गरेको थियो । विराटनगरमा पनि लकडाउनका कारणले सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाईएपछि उनीहरु अलपत्र परेका थिए ।

यद्यपि मोरङ्ग प्रहरीले उनीहरुलाई पुर्व सतर्कता अपनाउँदै क्वारेन्टाइनमा लगिएको जनाएको छ ।

मङ्गलबार, ११ चैत, २०७६, रातीको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर