उर्लाबारी । मिर्गौला रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५१ बर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारका लागि १ लाख ६० हजार ५ सय ४५ रुपैयाँ सहयोग संकलन भएको छ ।
उर्लाबारी–५ स्थित सुनगाभा बोर्डिङ स्कूलका २०६७ सालका एसएलसी समूहका विद्यार्थीबाट संकलन भएको रकम सोमबार हस्तान्तरण गरिएको हो ।
अभियानका सदस्य सरोज बस्नेतलाई भगिता मगर, देबेन्द्र थापा र सुजन थापाले संयुक्त रुपमा संकलित रकम प्रदान गरेका छन् । सुनगाभाका पूर्वशिक्षकसमेत रहेका पीडित टिकाप्रसाद श्रेष्ठको जीवनरक्षाका लागि पूर्व विद्यार्थी विश्वहाङ जिमीले १ लाख १ हजार ८१ रुपैयाँ सहयोग गर्नुभएको छ भने सुजन लामाले १७ हजार ४ सय ६२ रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै, देवेन्द्र थापाले ५ हजार २ रुपैयाँ, शितल बोहोरा, दुर्लभ थापा, सिर्जना राई, सालु खवास र विकास रम्तेलले जनही ५÷५ हजार सहयोग गर्नुभएको छ । त्यस्तै, रचना लुईटेल, भगिता मगर, सपना सुब्बा र प्रभिना फागोले ३÷३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
सुनगाभा बोर्डिङ स्कुलका २०६७ सालका एसएलसी समूहका विद्यार्थीहरुबाट संकलित रकम टिका सरको उपचारका लागि सहयोग गरेको पूर्व विद्यार्थी देवेन्द्र थापाले जानकारी दिनुभयो । हालसम्म ३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जनाइएको छ ।
२०६० सालमा भारतको केरेलामा पहिला पटक प्रत्यारोपण गर्नुभएका श्रेष्ठको पुनः मृगौलामा समस्या आएको छ । मृगौला पुनः प्रत्यारोपण गर्न ४० लाख रुपैयाँ खर्च लाग्ने भएपछि श्रेष्ठ सहयोगी हातको खोजीमा हुनुहुन्छ । भारतको केरेला उपचाररत रहनुभएका श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गर्नुभएको छ । अभियानका संयोजक चन्द्रबहादुर श्रेष्ठले शिक्षासेवी तथा समाजसेबी टिकाप्रसादको जीवन रक्षाका लागि सबैले साथ र सहयोग गर्न अपिल गर्नुभयो ।