काठमाडौं । सांसदलाई दशैंमा भत्ता बाँड्ने प्रचलन अब बन्द भएको छ । संघीय संसद सचिवालयले यसअगाडि सांसदहरुलाई दिइँदै आएको दशैंभत्ता नदिने भएको हो ।
संसद् सचिवालयले आजमात्रै असोज महिनाको तलब सुविधा सांसदको खातामा पठाएको छ । तर, भत्ता भने नदिइएको सचिवालयको भनाइ छ । भत्ता दिने विषयमा मन्त्रीपरिषदले निर्णय पनि नगरेको र अर्थमन्त्रालयले बजेट पनि नपठाएको सचिवालयले जानकारी दिएको छ ।
संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको जानकारी दिए । प्रत्येक सांसदलाई बैठक भत्ता र यातायात खर्चबाहेक मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१० सांसद र तीनका पीएलाई दशैं भत्ता वितरण गरिन्थ्यो । २०७६ भदौ ३१ गतेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा सांसदलाई पहिलोपटक दशैं भत्ता बाँडिएको थियो । केन्द्रको सिको गर्दै प्रदेश सभाले पनि सांसदहरूलाई दशैं भत्ता बाँड्न सुरू गरेको थियो । अब भने त्यो क्रम रोकिएको छ । सांसदलाई दशैंभत्ता बाँड्ने कुराको चौतर्फी विरोध हुँदै आएको थियो ।