५४ जिल्लामा सुरु भयो काँग्रेसको पालिका अधिवेशन, पाँच जिल्लाको क्रियाशीलको टुंगो

विराटनगर । नेपाली काँग्रेसले ५४ जिल्लामा पालिका अधिवेशन गरेको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको भने केहीमा सुरु भएको छ । यस्तै आजमात्रै कांग्रेसले विवादमा रहेको पाँच जिल्लाको क्रियाशीलको नामावलीको टुंगो पनि लगाएको छ ।

आज सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वडा अधिवेशन भइसकेका १० जिल्लामा भने तयारी नपुगेको भन्दै पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भएपछि ती जिल्लामा पनि जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिसँग सहमतिमा मिति तोकिने छ ।

बाँकी १० जिल्लामा सबै वडा अधिवेशन सम्पन्न नभएको रिपोर्टिङ आएको कांग्रेसले जनाएको छ । तर असोज १६ गतेसम्म ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न हुनेछ । वडा अधिवेशन रोकिँदा पालिकाको मतदाता मानिने क्षेत्रीय प्रतिनिधि चयन भएका कारण पनि अधिवेशन हुन नसकेको हो ।

पालिका अधिवेशनमा पनि अधिकांश ठाउँमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही पालिकामा भने केन्द्रीय गुटकै रुपमा शेरबहादुर देउवा र रामचन्द्र पौडल प्यानल खडा गरेर प्रतिस्पर्धा भएको छ । त्यसमा पनि सभापति देउवा समूहबीच नै दुई प्यानल बनाएर धेरै ठाउँमा प्रतिस्पर्धा भएको छ ।

काँग्रेस क्रियाशील छानबिन समितिले विवाद टुंग्याउन बाँकी १३ जिल्लामा भने अधिवेशन अन्योल छ । शनिबार मात्रै ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिको भनाइ छ । बाँकी सात जिल्ला मध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेको छ ।

शनिबार, ०९ असोज, २०७८, रातीको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर