डेढ वर्षपछि सार्वजनिक वृत्तमा गच्छदार, अख्तियारले प्रतिशोध साँधेको आरोप

विराटनगर । ललिता निवास प्रकरणमा मुछिएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि राजनीतिक जीवनको सबैभन्दा असहज अवस्थामा पुगेका काँग्रेस नेता विजयकुमार गच्छदार झण्डै डेढ वर्षपछि सार्वजनिक वृत्तमा झुल्किएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर काँग्रेसका उपसभापतिसमेत रहेका गच्छदारले ललिता अख्तियारले राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाएको आरोप लगाए । उनले ललिता निवास प्रकरणमा आफु अदालतमा उपस्थित हुनु र प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु संयोगमात्र भएको दावी गरेका थिए । अदालतमा मुद्दा चलेपछि सांसद पदबाट निलम्बित उनी ‘फरार’ सूचीमा थिए । तर, देउवा प्रधानमन्त्री भएकै दिन उनी सार्वजनिक भएका थिए ।

गच्छदारले आफुले आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् । गच्छदारले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘लोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको हुँ । म नेपाली काँग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।’

आफू नेपाली काँग्रेसकै पक्षमा उभिएको बताउँदै उनले भने, ‘म नेपाली काँग्रेसको सभापतिमा प्रतिस्पर्धा छैन । म सभापतिको उम्मेदवार होइन । सभापतिमा प्रतिस्पर्धा गर्दिन । महाधिवेशन सबैका लागि हो । मेरो लागि पनि हो ।’ काँग्रेसको १४ औँ महाधिवेशन लोकतान्त्रिक विधि पद्धतिमा सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।

कुन पदमा उमेद्वारी दिने भन्नेबारे उनले समय आएपछि निर्णय लिने बताए । गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताए ।

‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन ।’

उनले ललिता निवास प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै त्यसक्रममा मुद्दा चलाउँदा निष्पक्ष नभएको समेत बताए । ‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’, गच्छदारले आफू लोकतन्त्रप्रति विश्वास राख्ने भन्दै स्वतन्त्र र निष्पक्ष न्याय पाउनेमा आफू आशावादी रहेको पनि बताए ।

अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सुनसरीबाट काँग्रेस राजनीतिमा उदाएर प्रभावशाली स्थान बनाएका गच्छदारले मधेश आन्दोलन लगत्तै काँग्रेस छाडेर मधेशवादी शक्ति निर्माणमा लागेका थिए । पछिल्लो निर्वाचन अघि काँग्रेससँग पार्टी एकता गरेपछि उनको फोरम लोकतान्त्रिक निष्क्रिय भएको थियो । सुनसरीबाट चुनाव जितेर प्रतिनिधिसभामा पुगेका उनी अख्तियारले मुद्दा चलाएपछि सांसद पदबाट मुक्त भएका थिए ।

बुधबार, ०६ असोज, २०७८, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर