विराटनगर । नेपाली काँग्रेस सभापतिको दाबी गरिरहेका केन्द्रीय नेता शेखर कोइरालाको निर्वाचन क्षेत्रका पाँच वडाको वडासभापति निर्विरोध भएका छन् ।
कांग्रेस नेता केदार कार्कीले दिएको जानकारी अनुसार कोइरालाको क्षेत्रमा पर्ने विराटनगर ७, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३ र विराटनगर ९ का वडा सभापति निर्विरोध भएका हुन् । विराटनगर ७ को सभापतिमा असुल विष्ट, विराटनगर ९ मा अजिता कोइराला सर्वसम्मत भएका हुन् । सर्वसम्मत चयन भएकामध्ये विराटनगर ९ मा चयन भएकी अजिता काँग्रेस मोरङका सचिव नागेश कोइरालाकी श्रीमती हुन् । यस्तै बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा क्रमशः गजेन्द्र कार्की, बोधनारायण विश्वास, किरण चौधरी निर्विरोध भएका हुन् । बुढीगंगाको वडा नम्बर २ प्रदेश १ प्रदेशसभा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीको वडा हो ।
यस्तै विराटनगर ११ मा भने अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । शिक्षक रामसुन्दर राजवंशीले वडा सभापतिमा उम्मेद्वारी दिएको उजुरी परेसँगै अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।
यस्तै विराटनगर महानगरको ७, ९, १० र १६ नं. वडाका काँग्रेस सभापतिहरु सर्वसम्मत चयन भएका हुन् । यसरी सर्वसम्मत चयन हुनेहरुमा विराटनगर ७ मा असुल विष्ट, ९ मा अजिता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भुजेल छन् । विराटनगर १६ मा मनोज सुब्बा सर्वसम्मत भएका हुन् । मोरङमा नेपाली कांग्रेसको १५ औं अधिवेशन अन्तर्गत वडासभापति र क्षेत्रीय प्रतिनिधिको निर्वाचन भोली हुँदैछ ।