विराटनगर । मोरङ मधुमल्लाका गोपाल नेपाली स्वास्थ्य विमा सुविधा अनुसार उपचार गराउन विराटनगरको विराट शिक्षण अस्पताल आए । मधुमल्ला स्वास्थ्य केन्द्रबाट रिफर भएर आएका उनलाई ओपिडीमा उपचार गराएर औषधि लिन दिनभर लाग्यो ।
सयौंको भीड भएकाले अरु पनि ओपिडीको पुर्जा बनाउन दुई घण्टा, विल काटन २ घण्टा र औषधि लिन फार्मेसीमा झण्डै ३ घण्टा लाइन बस्नुपर्यो । फार्मेसी पसलेहरुले गर्ने दोस्रो दर्जाको व्यवहार र उपचारमा डाक्टरले गरेको हतारो उनले चुपचाप खपे ।
विराटनगर महानगरपालिका १२ का ५० वर्षीय हरि पोखरेल पनि प्रथम उपचार केन्द्र तोकिएको कोशी अस्पतालमा अरुले झैं पुर्जा लिन,विमा सनाखत गराउन र औषधि लिन घण्टांै लाइनमा बसे । तर, मधुमेहका विरामी उनले अस्पतालबाट औषधि नै पाएनन् । कर्मचारीले आएको छैन भोलि आउनुहोस् भनेर जवाफ दिए । सात दिन धाउँदा पनि उनले औषधि पाउन सकेनन् ।
यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् , यसरी सास्ती पाउने विरामी संख्या ठूलो छ । सरकारले सुरु गरेको स्वास्थ्य विमा उपचार सेवामा आम नागरिकको आकर्षण बढेको छ । तर, विमित विरामीहरुले अस्पतालमा चाहिँ निरन्तर सास्ती भोगिरहेका छन् ।
विराटनगरको सरकारी अस्पताल कोशीमा मात्र नभएर निजी क्षेत्रका ठूला अस्पताल नोबेल र विराट मेडिकल कलेजमा स्वास्थ्य विमामार्फत उपचार गराउनेहरुको दैनिक थेगिनसक्नु भीड लाग्ने गरेको छ । विरामीहरु उपचार सेवाका लागि पुर्जा काट्न, विल तिर्न र औषधि लिन कोरोना संक्रमणको ख्याल नै नगरी दिनभर लाईनमा बस्न बाध्य हुन्छन् ।
ती प्रत्येक अस्पतालहरुमा विमा उपचार सेवा लिनेहरु मात्र दैनिक एक हजार सम्म हुने भएपनि कर्मचारी , चिकित्सक र विल , पुर्जा र फार्मेसी काउन्टरहरु थपिएका छैनन् । विमा कार्यक्रमले गर्दा उपचार क्लिनिकहरुमा जाने विरामीहरु आजकल ठूला अस्पतालहरुतर्फ फर्किएका छन् । तर, उपचारमा आउने विरामी संख्या चौगुना बढे पनि अस्पतालहरुले सिमित कर्मचारी र काउन्टरबाटै सेवा दिइरहेका छन् । यसले उपचार गराउन आएका सिकिस्त विरामीहरुसमेत आफै घण्टौ लाइनमा बस्नुपर्ने बाध्यतामा छन् ।
विराटनगर महानगरको मात्र प्रथम सेवा केन्द्र तोकिएको कोशी अस्पताल विराटनगरमा दैनिक ६ देखि ७ सय विरामी विमा उपचार सेवा लिन आउने गरेका छन् । गाउँ–गाउँमा रहेका प्रथम सेवा केन्द्रबाट पनि विरामी आउने भएकाले विराटनगरका ठूला अस्पतालहरु नोबेलमा दैनिक १५ सय, विराटनगरमा दैनिक एक हजार जना विरामीहरु उपचारका लागि आउने गरेका छन् । ओपिडीमा विशेषज्ञ चिकित्सकलाई देखाउन आउने विरामीहरुको चापले अस्पतालमा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै हुने गरेको छ ।
कोशी अस्पतालका प्रमुख डा चुमनलाल दास सकेसम्म आफूहरुले सेवा लिन आउनेहरुलाई सहज होस् भनेर ८ जना कर्मचारी खटाएर पुर्जा स्क्यानिङ गराउने र औषधि पनि कमी हुन नदिन कोशिस गरेको बताए । सरकारले समयमा भुक्तानी नदिँदा औषधि खरीदमा समस्या हुने उनको भनाइ छ । यही कारणले कतिपय औषधिहरु अभाव हुने गरेको छ । अहिले पनि कोशी अस्पताल विमा उपचार सेवावापतको ७ करोड रुपैयाँ र औषधिबापतको ३ करोड रुपैयाँ पाउन बाँकी छ ।
नोवेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाल सरकारले लगाएको झन्झटिलो प्रक्रियाले गर्दा विमावापतको उपचार गराउन आउने विरामीहरुले सास्ती पाउने गरेको बताउँछन । भन्छन ,‘अरुको पुर्जा ५ मिनेटमा बन्छ तर विमावालाको पुर्जा बनाउन १५ मिनेट लाग्छ , भीड त हुने भैहाल्यो ।’ उनले अत्यधिक भीड भए पनि उपचार सेवामा भने आफूहरुले कमी आउन नदिएको दाबी गरे । विमा उपचार सेवालाई सरकारले अनलाइनमार्फत छिटो छरितो बनाउनुपर्ने उनको सुझाव छ ।
विरामीहरु भने विमा कार्यक्रम राम्रो भए पनि सरकारले सही व्यवास्थापन गर्न नसक्दा उपचार सेवा सास्ती र जोखिमूर्ण बनिरहेको बताउँछन । मधमुमल्लाका गोपाल नेपाली सरकारले विमा अन्र्तगतको उपचार सेवा सबै अस्पतालमा एकैपटक पाउने गरी व्यावस्था गर्नुपर्ने बताउँछन । उपचार गराउँदा, औषधि अनि स्वास्थ्य सामग्री लिँदा भुक्त्तानी क्यास मात्र नभएर कार्ड वा मोवाइलबाट पनि गर्न पाउने व्यवस्था हुनुपर्छ भन्छन उनी । विराटनगरका हरि पोखरेल पनि अस्पतलामा विरामीको चाप बढ्दो भएकोले अस्पतालको संख्या बढाउनुपर्ने र महानगरपालिकाका सबै वडामा प्रथम सेवा केन्द्रहरु स्थापना गरिनुपर्ने सुझाउँछन । अस्पतालमा उपचार गराउन आउनेहरु सबै विरामी हुने भएकोले उनीहरुलाई घण्टौ लाइनमा उभिन लगाउनु अपराधसरह हुने भएकोले अस्पतालमा फराकिलो बस्ने व्यवस्था र टोकन प्रणाली लागू गर्नुपर्ने उनको सुझाव छ ।
प्रदेश १ का सबै जिल्लाका स्वास्थ्यकेन्द्र र अस्पतालहरुलाई विमा उपचारको प्रथम सेवा केन्द्र तोकिएको छ । यसबाहेक सुविधा सम्पन्न निजी अस्पतालहरुलाई पनि सेवा प्रदान गर्ने अनुमति दिइएको छ । विराटनगरमा नोबेल , विराट शिक्षण अस्पतालले मात्र नभएर संन्जिवनी , म्याक्स , मोरंग सहकारी लगायतका अस्पतालहरुले पनि विमा उपचार कार्यक्रम सञ्चालन गरेका छन् । तर, विरामीले नाम चलेका ठूला अस्पतालहरु मात्रै जान रुचाउने भएकोले भीड अधिक भएको हो । प्रदेश १ स्वास्थ्य विमा प्रमुख दुर्गा आचार्यका अनुसार प्राय स्वास्थ्य केन्द्रहरुको आफनो फार्मेसी नै छैन विशेषज्ञ डाक्टरहरु पनि हँुदैनन यसैले धेरैको रोजाई अझै निजी क्षेत्रका ठूला अस्पतालहरु हुने गरेका हुन् । आचार्यले भने , ‘अझै सरकारी उपचार सेवामा नागरिकको विश्वास आर्जन भैसकेको छैन भन्ने विमा कार्यक्रमले प्रस्ट पारेको छ सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’,
नेपाल सरकारको स्वास्थ्य विमाबोर्ड प्रदेश १ कार्यालयका संयोजक दुर्गा आचार्यका अनुसार स्वास्थ्यविमा गराएपछि सम्बन्धित पालिकामा रहेको सरकारी अस्पताल र स्वास्थ्य केन्द्रलाई प्रथम सेवा केन्द्रमा उपचार गराउनुपर्छ । त्यहाँवाट ‘रेफर’ पाएपछि मात्र अन्य अस्पतालमा उपचार गराउन पाइन्छ । स्वास्थ्य विमा बोर्डका अनुसार हालसम्म प्रदेश १ मा कुल जनसँख्याको ३३ प्रतिशत अर्थात १५ लाख जनाले स्वास्थ्य विमा गराइसकेका छन् । विमितहरुको उपचारका लागि प्रदेश १ मा २० वटा सरकारी , १८ वटा स्थानीय सामुदायिक, ४० वटा स्वास्थ्यकेन्द्र र निजी क्षेत्रका ८ वटा आँखा १८ वटा अन्य अस्पताल सहितजम्मा १ सय २ वटा अस्पतालहरु तोकिएका छन । जसमा मोरंङमा २३ सुनसरी १० झापामा २१ वटा अस्पताल पर्छन । यसैगरी ईलाममा ६ भोजपुरमा ४ र खोटाङमा ५, सोलु ५ ओखलढुंगा ३ संखुवासभा ६ वटा अस्पताल तोकिएका छन । धनकुटामा ३ तेह्रथुममा ५, उदयपुरमा ४ अनि पाँचथरमा ३ र ताप्लेजुंङमा ४ वटा अस्पतालमा विमितहरुले उपचार सेवा पाउँछन् ।
यद्यपि विमा गराउनेहरुको संख्या हरेक महिना बढ्दै जाने भएकोले र सबै सरकारी अस्पतालहरुको सेवा गुणस्तरीय भइनसकेकोले ठूला अस्पतालमा विरामीको चाप अझै बढदै जानेछ । र, सरकारले चाँडै सही व्यवस्थापन नगरे विरामीले झन् धेरै सास्ती पाउँदै जानेछन् ।
Khas ma kosi anChal aspatal baat bima hataunu parne ho bimama parne aaudhi pani didaina rafer maagda rafer pani didaina Ani yo rafer sistem hataunu parneho bima le
हाल याे विमा सरकारले जनतालाई झुकयाउन स्वास्थ्य सेवाकाे नाममा ललिपप भकाे छ ।किनकि सुरूमा जहावाटनि सेवा दियाे ।हाल आएर विरामिले सेवा विन्दुवाट सेवा लिएर अनि नभए वल्ल रिफर लिनुपर्ने र रिफर लिएकाे हप्तादिनमा सेवा लिईसक्नु पर्ने जवकी पहाडी क्षेत्रवाट तराई जानै 2/3 दिन लाग्छ त्यसमा विदाकाे दिनहरू परेत हप्ता तेसै जान्छ।हप्ता कटाे अर्काे रिफर अनि भनेकाे वेला सर्वसाधरणले कसरी सेवा लिने ।कमसेकम रिफरकाे 1 महिनासम्म काम गर्ने नवनेसम्म उहीँ हामी जनतालाई विमामा सास्ती भन्दा केही छैन सरकारकाे ध्यान यतानि जाओस ।
मैले बिमाबाट उपचार गर्न कोशी अस्पताल गाको डाक्टरले भने बमोजिम सबै चेक जाँच गर्न बिल काटेर पनि ECG गर्ने ठाँउमा जादा दिनभरी पर्खे खुलेन अनि घर फर्के । फेरि जान १ दिन बसको यात्रा 1 दिन बिराटनगर बसाई 1 दिन उपचार गर्ने न्युनतम समय मेरो खर्च कति होला । सास्ती पनि कति धेरै हो । लास्टमा रोग सङ्ग आफै लड्दै बस्दै ।