स्वास्थ्य विमा : सेवाभन्दा सास्ती बढी

व्यवस्थापन सुधार्न अस्पतालहरुको कन्जुस्याइँ

विराटनगर । मोरङ मधुमल्लाका गोपाल नेपाली स्वास्थ्य विमा सुविधा अनुसार उपचार गराउन विराटनगरको विराट शिक्षण अस्पताल आए । मधुमल्ला स्वास्थ्य केन्द्रबाट रिफर भएर आएका उनलाई ओपिडीमा उपचार गराएर औषधि लिन दिनभर लाग्यो ।

सयौंको भीड भएकाले अरु पनि ओपिडीको पुर्जा बनाउन दुई घण्टा, विल काटन २ घण्टा र औषधि लिन फार्मेसीमा झण्डै ३ घण्टा लाइन बस्नुपर्यो । फार्मेसी पसलेहरुले गर्ने दोस्रो दर्जाको व्यवहार र उपचारमा डाक्टरले गरेको हतारो उनले चुपचाप खपे ।

विराटनगर महानगरपालिका १२ का ५० वर्षीय हरि पोखरेल पनि प्रथम उपचार केन्द्र तोकिएको कोशी अस्पतालमा अरुले झैं पुर्जा लिन,विमा सनाखत गराउन र औषधि लिन घण्टांै लाइनमा बसे । तर, मधुमेहका विरामी उनले अस्पतालबाट औषधि नै पाएनन् । कर्मचारीले आएको छैन भोलि आउनुहोस् भनेर जवाफ दिए । सात दिन धाउँदा पनि उनले औषधि पाउन सकेनन् ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् , यसरी सास्ती पाउने विरामी संख्या ठूलो छ । सरकारले सुरु गरेको स्वास्थ्य विमा उपचार सेवामा आम नागरिकको आकर्षण बढेको छ । तर, विमित विरामीहरुले अस्पतालमा चाहिँ निरन्तर सास्ती भोगिरहेका छन् ।

विराटनगरको सरकारी अस्पताल कोशीमा मात्र नभएर निजी क्षेत्रका ठूला अस्पताल नोबेल र विराट मेडिकल कलेजमा स्वास्थ्य विमामार्फत उपचार गराउनेहरुको दैनिक थेगिनसक्नु भीड लाग्ने गरेको छ । विरामीहरु उपचार सेवाका लागि पुर्जा काट्न, विल तिर्न र औषधि लिन कोरोना संक्रमणको ख्याल नै नगरी दिनभर लाईनमा बस्न बाध्य हुन्छन् ।

ती प्रत्येक अस्पतालहरुमा विमा उपचार सेवा लिनेहरु मात्र दैनिक एक हजार सम्म हुने भएपनि कर्मचारी , चिकित्सक र विल , पुर्जा र फार्मेसी काउन्टरहरु थपिएका छैनन् । विमा कार्यक्रमले गर्दा उपचार क्लिनिकहरुमा जाने विरामीहरु आजकल ठूला अस्पतालहरुतर्फ फर्किएका छन् । तर, उपचारमा आउने विरामी संख्या चौगुना बढे पनि अस्पतालहरुले सिमित कर्मचारी र काउन्टरबाटै सेवा दिइरहेका छन् । यसले उपचार गराउन आएका सिकिस्त विरामीहरुसमेत आफै घण्टौ लाइनमा बस्नुपर्ने बाध्यतामा छन् ।

विराटनगर महानगरको मात्र प्रथम सेवा केन्द्र तोकिएको कोशी अस्पताल विराटनगरमा दैनिक ६ देखि ७ सय विरामी विमा उपचार सेवा लिन आउने गरेका छन् । गाउँ–गाउँमा रहेका प्रथम सेवा केन्द्रबाट पनि विरामी आउने भएकाले विराटनगरका ठूला अस्पतालहरु नोबेलमा दैनिक १५ सय, विराटनगरमा दैनिक एक हजार जना विरामीहरु उपचारका लागि आउने गरेका छन् । ओपिडीमा विशेषज्ञ चिकित्सकलाई देखाउन आउने विरामीहरुको चापले अस्पतालमा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै हुने गरेको छ ।

कोशी अस्पतालका प्रमुख डा चुमनलाल दास सकेसम्म आफूहरुले सेवा लिन आउनेहरुलाई सहज होस् भनेर ८ जना कर्मचारी खटाएर पुर्जा स्क्यानिङ गराउने र औषधि पनि कमी हुन नदिन कोशिस गरेको बताए । सरकारले समयमा भुक्तानी नदिँदा औषधि खरीदमा समस्या हुने उनको भनाइ छ । यही कारणले कतिपय औषधिहरु अभाव हुने गरेको छ । अहिले पनि कोशी अस्पताल विमा उपचार सेवावापतको ७ करोड रुपैयाँ र औषधिबापतको ३ करोड रुपैयाँ पाउन बाँकी छ ।

नोवेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाल सरकारले लगाएको झन्झटिलो प्रक्रियाले गर्दा विमावापतको उपचार गराउन आउने विरामीहरुले सास्ती पाउने गरेको बताउँछन । भन्छन ,‘अरुको पुर्जा ५ मिनेटमा बन्छ तर विमावालाको पुर्जा बनाउन १५ मिनेट लाग्छ , भीड त हुने भैहाल्यो ।’ उनले अत्यधिक भीड भए पनि उपचार सेवामा भने आफूहरुले कमी आउन नदिएको दाबी गरे । विमा उपचार सेवालाई सरकारले अनलाइनमार्फत छिटो छरितो बनाउनुपर्ने उनको सुझाव छ ।

विरामीहरु भने विमा कार्यक्रम राम्रो भए पनि सरकारले सही व्यवास्थापन गर्न नसक्दा उपचार सेवा सास्ती र जोखिमूर्ण बनिरहेको बताउँछन । मधमुमल्लाका गोपाल नेपाली सरकारले विमा अन्र्तगतको उपचार सेवा सबै अस्पतालमा एकैपटक पाउने गरी व्यावस्था गर्नुपर्ने बताउँछन । उपचार गराउँदा, औषधि अनि स्वास्थ्य सामग्री लिँदा भुक्त्तानी क्यास मात्र नभएर कार्ड वा मोवाइलबाट पनि गर्न पाउने व्यवस्था हुनुपर्छ भन्छन उनी । विराटनगरका हरि पोखरेल पनि अस्पतलामा विरामीको चाप बढ्दो भएकोले अस्पतालको संख्या बढाउनुपर्ने र महानगरपालिकाका सबै वडामा प्रथम सेवा केन्द्रहरु स्थापना गरिनुपर्ने सुझाउँछन । अस्पतालमा उपचार गराउन आउनेहरु सबै विरामी हुने भएकोले उनीहरुलाई घण्टौ लाइनमा उभिन लगाउनु अपराधसरह हुने भएकोले अस्पतालमा फराकिलो बस्ने व्यवस्था र टोकन प्रणाली लागू गर्नुपर्ने उनको सुझाव छ ।

प्रदेश १ का सबै जिल्लाका स्वास्थ्यकेन्द्र र अस्पतालहरुलाई विमा उपचारको प्रथम सेवा केन्द्र तोकिएको छ । यसबाहेक सुविधा सम्पन्न निजी अस्पतालहरुलाई पनि सेवा प्रदान गर्ने अनुमति दिइएको छ । विराटनगरमा नोबेल , विराट शिक्षण अस्पतालले मात्र नभएर संन्जिवनी , म्याक्स , मोरंग सहकारी लगायतका अस्पतालहरुले पनि विमा उपचार कार्यक्रम सञ्चालन गरेका छन् । तर, विरामीले नाम चलेका ठूला अस्पतालहरु मात्रै जान रुचाउने भएकोले भीड अधिक भएको हो । प्रदेश १ स्वास्थ्य विमा प्रमुख दुर्गा आचार्यका अनुसार प्राय स्वास्थ्य केन्द्रहरुको आफनो फार्मेसी नै छैन विशेषज्ञ डाक्टरहरु पनि हँुदैनन यसैले धेरैको रोजाई अझै निजी क्षेत्रका ठूला अस्पतालहरु हुने गरेका हुन् । आचार्यले भने , ‘अझै सरकारी उपचार सेवामा नागरिकको विश्वास आर्जन भैसकेको छैन भन्ने विमा कार्यक्रमले प्रस्ट पारेको छ सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’,

नेपाल सरकारको स्वास्थ्य विमाबोर्ड प्रदेश १ कार्यालयका संयोजक दुर्गा आचार्यका अनुसार स्वास्थ्यविमा गराएपछि सम्बन्धित पालिकामा रहेको सरकारी अस्पताल र स्वास्थ्य केन्द्रलाई प्रथम सेवा केन्द्रमा उपचार गराउनुपर्छ । त्यहाँवाट ‘रेफर’ पाएपछि मात्र अन्य अस्पतालमा उपचार गराउन पाइन्छ । स्वास्थ्य विमा बोर्डका अनुसार हालसम्म प्रदेश १ मा कुल जनसँख्याको ३३ प्रतिशत अर्थात १५ लाख जनाले स्वास्थ्य विमा गराइसकेका छन् । विमितहरुको उपचारका लागि प्रदेश १ मा २० वटा सरकारी , १८ वटा स्थानीय सामुदायिक, ४० वटा स्वास्थ्यकेन्द्र र निजी क्षेत्रका ८ वटा आँखा १८ वटा अन्य अस्पताल सहितजम्मा १ सय २ वटा अस्पतालहरु तोकिएका छन । जसमा मोरंङमा २३ सुनसरी १० झापामा २१ वटा अस्पताल पर्छन । यसैगरी ईलाममा ६ भोजपुरमा ४ र खोटाङमा ५, सोलु ५ ओखलढुंगा ३ संखुवासभा ६ वटा अस्पताल तोकिएका छन । धनकुटामा ३ तेह्रथुममा ५, उदयपुरमा ४ अनि पाँचथरमा ३ र ताप्लेजुंङमा ४ वटा अस्पतालमा विमितहरुले उपचार सेवा पाउँछन् ।

यद्यपि विमा गराउनेहरुको संख्या हरेक महिना बढ्दै जाने भएकोले र सबै सरकारी अस्पतालहरुको सेवा गुणस्तरीय भइनसकेकोले ठूला अस्पतालमा विरामीको चाप अझै बढदै जानेछ । र, सरकारले चाँडै सही व्यवस्थापन नगरे विरामीले झन् धेरै सास्ती पाउँदै जानेछन् ।

सोमबार, ०४ असोज, २०७८, बिहानको ११:२८ बजे

प्रतिक्रिया

  1. हाल याे विमा सरकारले जनतालाई झुकयाउन स्वास्थ्य सेवाकाे नाममा ललिपप भकाे छ ।किनकि सुरूमा जहावाटनि सेवा दियाे ।हाल आएर विरामिले सेवा विन्दुवाट सेवा लिएर अनि नभए वल्ल रिफर लिनुपर्ने र रिफर लिएकाे हप्तादिनमा सेवा लिईसक्नु पर्ने जवकी पहाडी क्षेत्रवाट तराई जानै 2/3 दिन लाग्छ त्यसमा विदाकाे दिनहरू परेत हप्ता तेसै जान्छ।हप्ता कटाे अर्काे रिफर अनि भनेकाे वेला सर्वसाधरणले कसरी सेवा लिने ।कमसेकम रिफरकाे 1 महिनासम्म काम गर्ने नवनेसम्म उहीँ हामी जनतालाई विमामा सास्ती भन्दा केही छैन सरकारकाे ध्यान यतानि जाओस ।

  2. मैले बिमाबाट उपचार गर्न कोशी अस्पताल गाको डाक्टरले भने बमोजिम सबै चेक जाँच गर्न बिल काटेर पनि ECG गर्ने ठाँउमा जादा दिनभरी पर्खे खुलेन अनि घर फर्के । फेरि जान १ दिन बसको यात्रा 1 दिन बिराटनगर बसाई 1 दिन उपचार गर्ने न्युनतम समय मेरो खर्च कति होला । सास्ती पनि कति धेरै हो । लास्टमा रोग सङ्ग आफै लड्दै बस्दै ।

प्रतिक्रिया:

सम्बन्धित खवर