विराटनगर । आफू प्रधानमन्त्री रहेका बेला आफ्नै जिल्ला केन्द्रीत भएको आरोप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाग्यो । अहिले उनकै गृहजिल्ला झापाका ६० सडक योजना कटौतीमा परेका छन्।
सन्तुलित विकासको आवश्यक रहेको आवाज उठिरहेका बेला ओलीले धेरै आयोजना झापामा खन्याएका थिए । ओली सरकारले अघि सारेका साढे २ अर्बको आयोजना अर्थमन्त्री जनार्दन शर्माले परिमार्जित बजेटमार्फत कटौती गरेका हुन्।
७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका १४ सय १० वटा सडक रहेका छन्। ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम ७९३ र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६१७ सडक अघि सारेको थियो।
अर्थमन्त्री शर्माले पूर्वतयारी तथा बजेट सुनिश्चित नभई सडक शिलान्यास गरिएको भन्दै कटौती गरेका हुन्। उनले प्रतिस्थापन विधेयकमार्फत स्थानीय तह वा प्रदेशलाई हस्तान्तरण गर्ने गरी अहिले कटौती भएको उल्लेख गरेका छन्।